बालेन प्रधानमन्त्री हुँदा बनेका १० रेकर्ड [भिडियो]

बालेन प्रधानमन्त्री हुँदा बनेका १० रेकर्ड [भिडियो]


काठमाडौं । नेपाली राजनीतिको परम्परागत धरातललाई पन्छाउँदै बालेन शाह यतिबेला सिंहदरबारको मूल ढोका ढकढक्याउन पुगेका छन् । स्थानीय तहमा देखाइएको कार्यकुशलता, कानुनी शासनको कडा कार्यान्वयन र भुईँतहका जनताको भावनासँग जोडिने उनको कौशलले गर्दा आम नागरिकमा “प्रधानमन्त्री बालेन” को परिकल्पना एउटा बलियो आशाका रूपमा अङ्कुरित भएको थियाे । जुन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिएसँगै पूरा भएकाे छ ।

बालेन प्रधानमन्त्री बन्दा रेकर्डै रेकर्ड-

१. नेपालको सबैभन्दा कम उमेरका प्रधानमन्त्री

बालेन वि.सं. २०६५ मा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालले पाएको प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा कम उमेरका कान्छा प्रधानमन्त्री बनेका छन् । हाल नेपालको ४७औं प्रधानमन्त्री बन्दा बालेन ३६ वर्षका छन् । बालेनभन्दा अगाडि कोही पनि प्रधानमन्त्रीहरु ५० वर्ष भन्दा कम उमेरमा प्रधानमन्त्री बनेका छैनन् । यसअघि सबैभन्दा कम उमेरमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट २०६५ भदौ २ गते पुष्पकमल दाहाल प्रचण्ड ५४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । त्यसपछि माधवकुमार नेपाल ५७ उमेरमा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नै ६४ वर्षमा प्रधानमन्त्री बनेका थिए । हाल भने ४० वर्ष पनि नकटी ३६ वर्षकै उमेरमा बालेनले प्रधानमन्त्री बनेर नेपालको इतिहासमै नयाँ रेकर्ड बनाएका छन् ।

२. रास्वपाको पहिलो प्रधानमन्त्री

बालेन २०७९ को निर्वाचनपछि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि पहिलो प्रधानमन्त्री बनेका छन् । यसअघि रास्वपा सभापति रवि लामिछाने रास्वपा बाट दुईपटक उपप्रधानमन्त्री एवं गृहमन्त्री बनिसकेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा उठेर मेयरमा विजयी भएका बालेन पछिल्लो समय भने रास्वपामा प्रवेश गरेर प्रधानमन्त्रीको रुपमा निर्वाचनमा होमिएका थिए । उनी रास्वपामा प्रवेश गरेसँगै फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले दुई तिहाइको मत ल्यायो र बालेन रास्वपाबाट प्रधानमन्त्री बन्ने बाटो खुल्यो । उनी रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री बनेका हुन् ।

३. विश्वमा बहाल रहेका सबैभन्दा कम उमेरका प्रधानमन्त्री

बालेन शाह विश्वमा बहाल रहेका सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि बनेका छन् । जसले अन्तर्राष्ट्रिय स्तरमै उनको चर्चा चुलिएको छ । नेपालमा मात्रै होइन, सबैभन्दा कम उमेरमा बहालवाला प्रधानमन्त्री बनेर बालेनले विश्वभरी नै नयाँ रेकर्ड कायम गरेका छन् । तर, बालेन विश्वकै कम उमेरमा प्रधानमन्त्री बनेका भने होइनन् । यसअघि सन् २०१९ मा ३४ वर्षको उमेरमा फिनल्याण्डकी सन्ना मरिनले विश्वकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्रीबाट प्रधानमन्त्री बनेकी सन्नाले ५ वटा दलको गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन्।

४. लोकतन्त्रको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री

नवयुवामाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने करिब दुई तिहाइको बहुमत सरकारको नेतृत्व गर्दैछन् । जसले उनलाई लोकतन्त्रको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनाएको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकमा ५७ सिट गरी कुल १८२ सिट ल्याएको रास्वपाले इतिहासमै पहिलोपटक यस्तो चमत्कारिक बहुमत प्राप्त गरेको छ । संसदमा १८४ सिटको दुई तिहाइ ल्याउन दुई सिटले मात्रै चुकेको रास्वपाको नेतृत्व गर्दै बालेन प्रधानमन्त्री बनेका छन् । तथापी बालेन लोकतन्त्रको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । यसअघि २०५६ सालमा काग्रेंसले पनि बहुमत प्राप्त गरेको थियो ।

५. मेयरबाट एकैचोटी प्रधानमन्त्रीमा फड्काे

२०७९ सालमा काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको केन्द्रमा परेका बालेनले मेयर बनेपछि काठमाडौंको स्वरुप नै फेरे । आफ्नो कार्यकालमा अनधिकृत संरचनाहरू भत्काउने, सुकुम्बासी बस्ती व्यवस्थापन र फुटपाथ व्यवसायीहरू विरुद्धको कारबाहीका कारण उनको प्रशासनले आलोचना र विवादको पनि सामना गर्नु परेको थियो । तर आफ्नो कार्यशैली र सफलताकै कारण युवामा लोकप्रिय भएका बालेन पछिल्लो समय भने रास्वपामा प्रवेश गरेर प्रधानमन्त्रीको रुपमा निर्वाचनमा होमिएका थिए । उनी रास्वपामा प्रवेश गरेसँगै फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले दुई तिहाइको मत ल्यायो र बालेन रास्वपाबाट प्रधानमन्त्री बन्ने बाटो खुल्यो । यसरी नेपालमा बालेनले मेयरबाट सिधै प्रधानमन्त्री बनेको रेकर्ड पनि कायम गरेका छन् ।

६. राजनीतिमा आएको सबैभन्दा छोटो अवधिमै बनेका प्रधानमन्त्री

२०७९ सालमा काठमाडौंको मेयर बनेर राजनीतिमा प्रवेश गरेका बालेन ३ वर्षपछि २०८२ मा प्रधानमन्त्री बनेका छन्, जसले उनलाई राजनितिमा आएको सबैभन्दा छोटो अवधिमै बनेको प्रधानमन्त्रीको रुपमा चिनाएको छ । बालेन काठमाडौं महानगरपालिकाको प्रमुख बनेर राजनीतिमा औपचारिक प्रवेश गरेका हुन् । विसं २०७९ जेठ ३० गते बालेन काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेका थिए । स्वतन्त्र रूपमा तीन वर्ष महानगर प्रमुखको जिम्मेवारीमा रहेका बालेन २०८२ पुस १३ गते रास्वपा प्रवेश गरेका थिए । उनले रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तय गरेका थिए । यसरी उनी राजनितिमा आएको सबैभन्दा छोटो अवधिमै प्रधानमन्त्री बन्न सफल भएका छन् ।

७. मधेशी मूलका पहिलो प्रधानमन्त्री

बालेनको पुर्ख्याैली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका हो । उनी मधेशबाटै प्रधानमन्त्रीका रुपमा उदाएका पनि हुन् । झापा -५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजारको मतान्तरले पराजित गरेका बालेन शाह मधेशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका छन् । जुन आफैंमा नयाँ रेकर्ड हो ।

८. इन्जिनियरबाट प्रधानमन्त्री हुने पहिलो व्यक्ति

बालेन व्यावसायिक रुपमा एक इन्जिनियर पनि हुन् । बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। पेशाको क्रममा देशका ६५ वटा जिल्ला समेत बालेनले भ्रमण गरिसकेका छन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए । यसरी उनी एक स्ट्रक्चरल इन्जिनियरबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

९. विश्वकै पहिलो र्‍यापर प्रधानमन्त्री

हाल अन्तर्राष्ट्रिय मिडियामा बालेनको चर्चा ‘र्‍यापर टु पीएम’ भनेर भइरहेको छ । राजनीतिमा आउनु अगाडि सांगीतिक क्षेत्रबाटै आफ्नो र्‍याप र गीतहरुमार्फत् बालेनले लगातार भ्रष्टाचार, असमानता र गरिबीलगायतका विषयमा आवाज उठाउँदै थिए । बालेन विश्वमै र्‍यापर पृष्ठभूमिबाट सरकार प्रमुख बन्ने पहिलो व्यक्ति हुन् भन्दा फरक नपर्ला । र अझै पनि बालेन गीत निकाल्दै छन् । हिजो मात्रै पनि बालेनले आफ्नो नयाँ गीत जय महाकाली युट्युबमा सार्वजनिक गरेका छन्, जसले ४ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ । हालसम्म यो भिडियोले २९ लाख भ्युज प्राप्त गरिसकेको छ । बालेनको यो गीतले भ्यूजमा उछाल ल्याउने पक्का छ र अन्य धेरै रेकर्ड पनि रचिने सम्भावना पनि देखिन्छ। ‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो । रि-मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो । चुनावी अभियानका दृश्य समेट्दै भिडियो तयार पारिएको छ ।

१०. एकै वर्षमा तेस्रोपटक प्रधानमन्त्रीकाे कुर्सी साटफेर

२०८२ सालको भदौ २३ गते जेनजी आन्दोलनमाथि केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गरेका कारण देशको राजनीति नै नयाँ मोडमा पुग्यो । आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए भने त्यस यता ०८२ सालभित्रै मुलुकले दुई वटा प्रधानमन्त्री पायो । ओली सरकार सत्ताच्यूत भएपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार बन्यो । कार्की सरकारले अघिल्लो प्रतिनिधि सभा विघटन गरी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन घोषणा गर्‍यो । त्यही निर्वाचनबाट जितेर आएका बालेन फेरि प्रधानमन्त्री बनेका हुन् ।

Logo