बालेन सरकारलाई कसरी हेर्दैछ विश्वले ? [भिडियो]

बालेन सरकारलाई कसरी हेर्दैछ विश्वले ? [भिडियो]


काठमाडौं । नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वका नेताहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिरहेका छन् । यस अगाडिको भन्दा यस पटक अन्तरराष्ट्रिय समुदायले उच्च तहमा र तत्कालै शुभकामना व्यक्त गरिरहेका छन् ।

हेर्दा लाग्छ– स्वदेशभित्र झैं अन्तरराष्ट्रिय समुदाय पनि नयाँ सरकारसँग काम गर्न एकदमै ‘एक्साइटेड’ छ । नेपालको इतिहासमा नै पहिलोपटक लामो समयदेखि सत्ता रहेका राजनीतिक दल बाहेकका नयाँ र युवाले भरिएको सरकारसँग दुईपक्षिय सम्बन्धलाई बढाउन धेरै उत्साहित छन् । यति मात्र होइन, अन्तरराष्ट्रिय समुदायले पनि बालेनको विदेश नीतिलाई निकै उत्साहका साथ हेरिरहेका छन् । तर, नयाँ सरकारले आफ्नो विदेश नीतिका प्राथमिकताहरुको बारेमा भने केही पनि बोलेको छैन ।

भारत

भारत नेपालसँग ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक रूपमा अत्यन्त नजिकको सम्बन्ध भएको मुलुक हो । खुला सिमाना, साँस्कृतिक सम्बन्ध, व्यापार र रोजगारीका कारण दुई देशबीच गहिरो जनस्तरको सम्बन्ध रहँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई बधाई दिँदै भनेका छन्, “तपाईंको नियुक्तिले नेपालका जनताले तपाईंप्रति राखेको विश्वासलाई झल्काउँछ। भारत–नेपाल मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु।”

शाहले प्रधानमन्त्रीको सपथ खाएलगत्तै सबैभन्दा पहिला शुभकामना दिने विदेशी नेता नै मोदी थिए । भारत नेपालका प्रमुख व्यापार साझेदारमध्ये एक हो। ऊर्जा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र कनेक्टिभिटी क्षेत्रमा भारतले निरन्तर सहयोग गर्दै आएको छ। पछिल्ला वर्षहरूमा जलविद्युत् र रेलमार्ग परियोजनाहरूमा सहकार्य बढेको छ। सन् २०१४ मा प्रधानमन्त्री भए यता मोदीको सरकारले छिमेक पहिलो नीति अपनाउँदै आएको छ ।

जेनजी आन्दोलनपछि नेपालमा निर्वाचन गराउनको लागि भारतले महत्वपूर्ण सहयोग गरेको थियो । त्यसैले भारत नयाँ सरकारसँग काम गर्न उत्साहित देखिन्छ । तर, नयाँ सरकारले विवादित विषयहरु नउठाओस भन्ने भारतिय चाहना देखिन्छ । प्रत्येक प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतबाट शुरु गर्ने प्रचलन रहेको छ तर बालेन कहिले भारत जान्छन् यकिन भइसकेको छैन ।

अमेरिका

संयुक्त राज्य अमेरिकाले नेपाललाई लोकतान्त्रिक अभ्यास, विकास सहयोग र मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा लामो समयदेखि समर्थन गर्दै आएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै पारस्परिक समृद्धि र क्षेत्रीय स्थिरताका लागि सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ । यस अगाडि अमेरिका आर्थिक र सुरक्षा सहकार्य भन्दै वक्तब्य निकालेपछि त्यसबारे नेपालमा निकै वहश सिर्जना भएको थियो । अमेरिकाले सुरक्षा भनेर के भन्न खोजेको भनी बहस भएको थियो । यसपटक फेरि अमेरिकाले नयाँ शब्द राखेको छ– क्षेत्रिय स्थिरता ।

फेरि बहस उत्पन्न भएको छ– क्षेत्रिय स्थिरता भनेको के हो ? अमेरिकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा सुशासन क्षेत्रमा ठूलो सहयोग गर्दै आएको छ । पछिल्लोपटक मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनासँगै अमेरिकाले प्रस्ताव गरेको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी)बारे पनि बहस भइरहेको छ । अब नयाँ सरकारसँग अमेरिकाले अन्य के-के प्रस्ताव ल्याउँछ यकिन भइसकेको छैन ।

चीन

चीन नेपालका उत्तरी छिमेकी तथा रणनीतिक साझेदार हो। जेनजी आन्दोलनपछि चीन नेपालसँग झस्कीएको थियो । तर पछिल्लो समय चीनका प्रधानमन्त्री लि छाङले बधाई दिँदै चीन–नेपाल सम्बन्धलाई “पहाड र नदीहरूले जोडिएको परम्परागत मित्रता” भनेर वर्णन गरेका छन् । उनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न चीनको समर्थन निरन्तर रहने बताएका छन् ।

त्यसैगरी चीनका विदेशमन्त्री वाङ यीले पनि परराष्ट्रमन्त्री शिशिर खनाललाई शुभकामना सन्देश पठाउँदै नयाँ सरकारसँग दुईपक्षिय विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् । यस अगाडि चिनियाँ विदेश मन्त्रालयले पनि बधाई दिएको थियो । चीनले नयाँ सरकारसँग विशेषगरी बेल्ट एण्ड रोड बिआरआई, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्न चाहेको छ । त्यसैगरी चीनले दुई मुलुक जोड्ने सडकमार्ग विस्तारमा समेत जोड दिएको छ । पछिल्लो समय चीनले आफ्नो सुरक्षा चासो निकै प्राथमिकताका साथ उठाउँदै आएको छ ।

जापान

जापान नेपालका विश्वसनीय विकास साझेदारहरूमध्ये एक हो । उसले नेपालको पूर्वाधार निर्माणमा लामो समयदेखि सहयोग गर्दै आएको छ । जापानकी प्रधानमन्त्री सनई ताकाइचीले प्रधानमन्त्री शाहलाई बधाई दिँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने इच्छा व्यक्त गरेकी छन्। जापानले नेपालमा पूर्वाधार (जस्तैः सडक, पुल, विमानस्थल), शिक्षा, स्वास्थ्य तथा प्राविधिक सहयोगमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । जापानले नेपालमा विकास र प्रजातन्त्रको दुई खम्बे नीतिमा सहयोग गदै आएको छ । जेनजी आन्दोलनको केही दिन अगाडि मात्र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीनले आयोजना गरेको भिक्ट्री डे कार्यक्रममा सहभागी भएपछि जापान ओलीसँग रिसाएको थियो । समग्र दक्षिण एसिया नीतिमा जापाले नेपाललाई उच्च स्थानमा राख्ने गरेको छ ।

बेलायत

बेलायत नेपालको पुरानो साझेदार मुलुक हो । विशेषगरी गोर्खा सैनिकहरुको योगदान दुईपक्षिय सम्बन्धमा सदैव चर्चा हुने गरेको विषय हो । काठमाडौंस्थित बेलायती राजदूतले नयाँ प्रधानमन्त्रीलाई बधाई दिँदै भनेका छन्, हामी आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न तयार छौं । बेलायतले नेपालमा शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, जलवायु परिवर्तन र सुशासन क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ । तर पछिल्लो समय नेपालका लागि बेलायतको सहयोग क्रमश कम हुँदै गएको छ ।

युरोपेली संघ

नेपालको आन्तरिक राजनीतिमा युरोपेली युनियनको सहयोग महत्वपूर्ण छ । युरोपेली युनियनका प्रवक्ताले आफूहरु नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका प्राथमिकताहरु कार्यान्वयन सहयोग गर्न तयार रहेको बताएका छन् । ईयू नेपालका प्रमुख दातृ निकायमध्ये एक हो । यसले शिक्षा, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, दिगो विकास र मानवअधिकार क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । विशेषतः नेपालमा धर्मनिरपेक्षता र संघीयताको सुदृढीकरणमा इयुले सहयोग गर्दै आएको छ ।

अन्त्यमा, विश्वका ठूला तथा विकास साझेदार देशहरूको बधाई सन्देशले बालेनको नेतृत्वप्रति अन्तर्राष्ट्रिय विश्वास झल्काउँछ । साथै, यी सन्देशहरूले आगामी दिनमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै आर्थिक विकास, स्थायित्व र समृद्धिका दिशामा अघि बढ्ने अपेक्षा पनि स्पष्ट रूपमा देखाउँछन् । यो बालेन सरकारका लागि एक महत्वपूर्ण अवसर हो । आर्थिक समृद्धिको आकांक्षा पूरा गर्नका लागि सरकारले अन्तरराष्ट्रिय सहयोग र समर्थन जुटाउन महत्वपूर्ण हुन्छ ।

Logo