ढोरपाटन । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। खोप अभियान सञ्चालन गरिएपछि नयाँ बिरामीको संख्या घटे पनि संक्रमणको जोखिम अझै कायम छ।
फागुन ८ गतेबाट सुरु भएको संक्रमण ढोरपाटन नगरपालिका–७, ८ र ९ मा देखिएको थियो। त्यसपछि स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर खोप अभियान चलायो। फागुन २९ देखि चैत २ गतेसम्म १० देखि १९ वर्ष उमेर समूहका झण्डै छ हजार बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको छ।
हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ भने २०५ जना शंकास्पद बिरामीको निगरानी भइरहेको छ। ३३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। चार जना बिरामी अस्पतालमा उपचाररत छन्।
स्वास्थ्य अधिकारीका अनुसार संक्रमणको गति घटे पनि पूर्ण नियन्त्रणका लागि अझै सतर्कता आवश्यक छ। तमानखोला गाउँपालिकामा समेत शंकास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका अन्य पालिकामा पनि खोप विस्तार गर्ने तयारी गरिएको छ।































प्रतिक्रिया