सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि मृत्यु प्रकरणमा २७ दिनपछि आज उनको शव परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै लामो समयदेखि शव नबुझिरहेको परिवारले अदालतको पछिल्लो आदेशपछि दाहसंस्कार गर्ने तयारी गरेको हो।
गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिशा वीरेन्द्रनगरमा परिवारसँग बस्दै आएकी थिइन्। कक्षा ११ मा अध्ययनरत उनी डाक्टर वा इन्जिनियर बन्ने सपना बोकेकी विद्यार्थी थिइन्। फागुन २३ गते बिहान “ट्यूशन र प्रयोगात्मक परीक्षा छ” भन्दै घरबाट निस्किएकी इनिशा केही घण्टापछि वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टमा गुप्ताङ्गमा गहिरो चोट र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ, जसले बलात्कारको संकेत गरेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको थियो। घटनापछि प्रहरीले चार जना नाबालकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। प्रारम्भिक अनुसन्धानमा प्रहरी र सरकारी वकिल कार्यालयबीच आरोपमा फरक दृष्टिकोण देखिएको थियो।
प्रहरीले मुख्य आरोपितमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानको आरोप सिफारिस गरेको थियो भने अन्य तीन जनालाई लापरवाही र सहयोग नगरेको आरोप लगाइएको थियो। तर सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध सामूहिक बलात्कार र योजनाबद्ध हत्या भएको दाबी गर्दै अभियोग दर्ता गरेको छ। सीआईबीले पनि घटनाको थप अनुसन्धान गर्दै डीएनए, फरेन्सिक तथा प्राविधिक परीक्षणका लागि नमुना संकलन गरेको थियो।
जिल्ला अदालत सुर्खेतको बाल इजलासले मंगलबार चारै आरोपितलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएपछि परिवारले शव बुझ्ने निर्णय गरेको हो। शव करिब २७ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। अब परिवारले भेरी नदी किनारमा अन्त्येष्टि गर्ने तयारी गरेको छ। यो घटनाले देशभर बालिका सुरक्षा, नाबालक अपराध, अनुसन्धान प्रक्रिया र न्याय प्रणालीबारे गम्भीर बहस जन्माएको छ। परिवारले भने दोषीलाई कडा कारबाही र पूर्ण न्यायको माग गरिरहेका छन्।





























प्रतिक्रिया