काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही दिन अगाडि विभिन्न सञ्चार माध्यममा प्रकाशित ‘शेयर खरिदमा रकम दुरुपयोग’ सम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कुनै सत्यता नभएको र ती दाबीहरू पूर्णतः भ्रामक एवं कपोलकल्पित रहेको स्पष्ट पारेको छ।
सञ्चार माध्यमहरूमा हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ (भृकुटी स्टक ब्रोकर) मार्फत भुक्तानी गरेको भन्ने समाचार सार्वजनिक भएका थिए।
उक्त समाचारको खण्डन गर्दै कम्पनीले यस विषयमा दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कम्पनीको कुनै पनि संलग्नता नरहेको र कुनै पनि प्रकारको कारोबार समेत नभएको स्पष्ट पारेको छ। लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराउँदै कम्पनी सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै पारदर्शी रूपमा सञ्चालन भइरहेको बताएको छ।
साथै, यस्ता आधारहीन समाचारले भ्रम सिर्जना गर्ने हुनाले सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न र गलत प्रचारको पछाडि नलाग्न कम्पनीले सबैमा विनम्र अनुरोध गरेको छ।































प्रतिक्रिया