शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत स्मारक निर्माण भइरहेकामा विसं २०७४ मा मन्त्रालय खारेजी भएको थियो । हाल यो आयोजनाको काम शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट शुरु भएको छ । विसं २०६८ मा काम शुरु भई २०७२ मै सक्ने लक्ष्य राखिएकामा भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र बनेको उद्यान निर्माण समितिका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

उद्यानको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत भएर काम अलपत्र हुँदा दुःख लागेको उनले बताए। विभागका आयोजना प्रमुख मचाकाजी महर्जनले विसं ०७७ जेठ २६ गते सक्ने गरी सातैवटा निर्माण व्यवसायीसँग सम्झौता भएको बताए पनि कोरोना महामारीका कारण काम नसकिएको बताए।

गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद सङ्ग्रहालय, शहीद सम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालय लगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।

विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैले घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

उपत्यकाको अधिकांश भाग देखिने गोकर्णस्थित सामुदायिक वनको ६५० रोपनी जग्गामा १३ वर्ष अघिदेखि निर्माण शुरु भएको शहीद स्मारक सरोकार भएका निकायको प्राथमिकतामा नपर्दा अझै पूरा हुन सकेको छैन ।

Skip This
Skip This
Logo