कञ्चनपुर। संविधान र कानुनले जातीय विभेद निषेध गरे पनि व्यवहारमा यसको अवशेष अझै कायम रहेको बेला बैतडीको पाटन नगरपालिका–३ स्थित वनारसीधामलाई भने जातीय समानताको जीवित उदाहरणका रूपमा लिइन्छ ।
यहाँ करिब ४१८ वर्षदेखि दलित र ब्राह्मण पुजारीले संयुक्त रूपमा पूजा–अर्चना गर्दै आएका छन् । यही परम्पराका कारण यस धामलाई जातीय विभेदविरुद्धको ‘लिभिङ म्युजियम’ अर्थात् जीवित सङ्ग्रहालयका रूपमा चिनिन्छ ।
इतिहासअनुसार तत्कालीन स्वराड क्षेत्रका राजा मानुक चन्दको शासनकालमा जातीय विभेद अन्त्य गर्ने निर्णयपछि यो परम्परा सुरु भएको मानिन्छ । त्यसयता दलित समुदायका पुजारी पनि ब्राह्मण पुजारीसँगै पूजा गर्ने परम्परा निरन्तर चलिरहेको छ ।
धाममा अहिले पनि जात हेरेर होइन, समान रूपमा पूजा गराउने परम्परा कायम छ । यसले सामाजिक समानता, सहअस्तित्व र समावेशीताको सन्देश दिइरहेको स्थानीय बताउँछन् ।
तर ऐतिहासिक र धार्मिक महत्व हुँदाहुँदै पनि पूर्वाधार र बजेट अभावका कारण धामको समग्र विकास हुन सकेको छैन । स्थानीय तहले केही संरक्षण प्रयास गरे पनि ठूला योजना कार्यान्वयन हुन नसकेको जनाइएको छ ।
उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके वनारसीधाम धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना उच्च छ ।































प्रतिक्रिया