चितवनमा किम्वुका विरुवाको माग बढ्दो

चितवनमा किम्वुका विरुवाको माग बढ्दो

केन्द्रबिन्दु
21
Shares

चितवन। किम्बु (सिल्कवर्मको लागि प्रयोग हुने बिरुवा) पछिल्लो समय बहुउपयोगी बनिँदै जाँदा यसको बिरुवाको माग देशभर बढ्दै गएको छ। पहिले रेशम किरापालनका लागि मात्र प्रयोग हुने किम्बु अहिले कृषि, पशुपालन र पर्यटन क्षेत्रमा समेत उपयोग हुन थालेपछि यसको बजार विस्तार भएको हो।

चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्ममा उत्पादन भएका किम्बुका बिरुवा विभिन्न जिल्लामा पठाइँदै आएका छन्। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्र एक लाख ८० हजारभन्दा बढी बिरुवा उत्पादन गरिएको छ, जसलाई प्रतिविरुवा पाँच रुपैयाँमा बिक्री गरिएको छ। मधेस र पहाडी जिल्लाबाट समेत यसको माग बढिरहेको छ।

पहिले रेशम खेती घट्दै जाँदा किम्बुको महत्व कम हुँदै गएको भए पनि पछिल्ला वर्षमा यसको प्रयोग पुनः बढ्न थालेको छ। ओखलढुङ्गा, सिन्धुली लगायतका जिल्लाबाट रेशम किरापालनका लागि पनि बिरुवाको माग आएको छ।

यससँगै होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा पनि किम्बु रोप्ने चलन बढ्दै गएको छ। छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले पर्यटकीय स्थल र बगैँचामा यसको प्रयोग बढेको हो।

किम्बुको फललाई पनि उपयोगी मानिन्छ। यसबाट जाम, जुस र वाइन बनाउन सकिन्छ। साथै यसको फलमा औषधीय गुण हुने र स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको माग थप बढिरहेको छ। किसानहरूले यसलाई पशुका लागि घाँसको रूपमा पनि प्रयोग गर्ने गरेका छन्, विशेषगरी घाँसको अभाव हुने समयमा यसको उपयोग बढी हुने गरेको छ।

फार्मले हाल कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिरहेको छ। यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने बताइएको छ। हिउँदमा कटिङ गरेर रोपाइँ गरिन्छ भने जेठदेखि वितरण सुरु हुन्छ। वर्षायाममा रोप्दा राम्रो हुने भए पनि पानीको व्यवस्था भए अन्य समयमा पनि रोप्न सकिने जनाइएको छ।

Skip This
Skip This
Logo