काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष एन्ड्र्यु पौडेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन स्पष्ट रुपमा विद्यार्थी भिसा कानुन तत्काल बनाउनुपर्ने माग गरेका छन् ।
नयाँ संसद् र सरकार गठनपछिको यो निर्णायक मोडमा आर्थिक विकास, लगानीमैत्री वातावरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै सुरक्षित निजी क्षेत्रः सशक्त महासंघका लागि नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगत तर्फका केन्द्रिय उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले आयोजना गरेको नीति संवाद कार्यक्रममा पौडेलले यो कुरा स्पष्टसँग राखेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको समृद्धिका लागि आपसी सहकार्य र नीतिगत स्थायित्व अपरिहार्य रहेकोमा जोड दिएका थिए । त्यही सन्दर्भमा पौडेलले भने, “महासंघको भावी नेतृत्वले अब विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने वातावरण बनाउनुपर्छ ।” उनको यो भनाइले नेपालको शिक्षा क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने र अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने नयाँ इन्जिनको रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै पौडेलले विदेशी विद्यार्थीहरूका लागि एक वर्षे माउन्टेनियरिङ शिक्षा कार्यक्रम सुरु गर्नुपर्ने अर्को अत्यन्त व्यावहारिक र तत्काल कार्यान्वयन योग्य प्रस्ताव पनि राखेका छन् । नेपालको हिमाली धरोहर, प्राकृतिक विविधता र विश्वप्रसिद्ध पर्यटकीय सम्पदालाई जोडेर सञ्चालन गर्न सकिने यो कार्यक्रमले विदेशी विद्यार्थीहरूलाई ठूलो संख्यामा आकर्षित गर्ने उनको ठहर छ ।
वर्तमान नीतिगत जटिलता र भिसा प्रक्रियाको झन्झटले गर्दा नेपाल उच्च शिक्षा हासिल गर्न चाहने विदेशी विद्यार्थीहरूको पहिलो गन्तव्य बन्न सकेको छैन । भारत, चीन, बङ्गलादेश, श्रीलङ्का जस्ता छिमेकी देशका विद्यार्थीहरूले नेपालको गुणस्तरीय शिक्षा, कम खर्चिलो जीवनयापन र सुरक्षित वातावरणको फाइदा उठाउन चाहन्छन्, तर कानुनी बाधा र नीतिगत स्पष्टताको अभावले उनीहरूलाई रोक्दै आएको छ । इक्यान अध्यक्ष पौडेलको मागले ठ्याक्कै यही समस्यालाई सम्बोधन गरेको छ ।































प्रतिक्रिया