भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

केन्द्रबिन्दु
9
Shares

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिक कला र संस्कृति हराउँदै गएको अवस्थामा चिमखोलावासीले भने भूमे पूजाको सांस्कृतिक पक्षलाई जीवन्त राखेका छन् ।

हरेक वर्ष चैतको उजेली मङ्गलबारका दिन चिम खोलाको सेवाङ्ग धुरीमा रहेको भूमे थानमा विधिपूर्वक प्रकृति पूजाका रूपमा भूमे देवताको पूजाआजा गरेपछि स्थानीयले देवतालाई खुसी बनाउन मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने चलन रहीआएको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए ।

पुर्खादेखि चल्दै आएको परम्परा र मान्यता अनुसार भूमे पूजा हुँदै आएको र अग्रजहरूले सुरु गरेको चलनलाई अहिले पनि निरन्तरता दिइएको उनले बताए । भूमे थानमा पुन थरका पुजारीले पूजा गराउने चलन छ भने पूजामा सहभागी हुन देश तथा विदेशमा रहेका चिमखोलावासीका साथै छिमेकी गाउँबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

मङ्गलबार सयौँको सङ्ख्यामा भूमे थानमा पुगेका स्थानीयवासीले पुरानो परम्परालाई निरन्तरता दिँदै भूमे देवताको पूजा गरेका छन् । भूमे पूजामा सेदो भाकामा गीत गाएर देवीदेवतालाई पुकार्ने परम्परा पनि कायम छ । चिमखोलाका ८४ वर्षीय लबहादुर पुनका अनुसार सेदो भाका भूमे पूजाको मुख्य आकर्षणमध्ये एक हो ।

भूमेलाई साँढेको बलि दिएर पूजा गरेपछि छेमा र पुजारीले राखेको जाँड चढाइन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकापसमा मोसो लगाएर नाचगान गर्ने चलन छ । वनजङ्गल नजिक बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर प्राकृतिक प्रकोप नआओस्, खेतीबाली राम्रो होस् भन्ने कामनासहित भूमे पूजा गर्ने गरिएको स्थानीय ध्रुवकुमार पाइजाले बताए ।

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउन जाँड राख्न छेमा (महिला) छनोट गरिन्छ । त्यसपछि उनीहरूले टोल–टोलमा समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ तयार गर्छन् ।

छेमाहरूले तयार पारेको जाँड भूमे थानमा चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा निस्केको अङ्गार एकअर्कालाई दल्दै नाचगान गर्ने चलन चिमखोलामा चलिआएको छ । पूजा सम्पन्न भएपछि सेदो गीत गाउँदै थान परिसरका सबै चुला घुमेर चुला उठाउने गरिन्छ ।

भूमे थानबाट गाउँ फर्कने क्रममा पञ्चेबाजा, सेदो भाका र भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । फर्किने क्रममा ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर गाउँमा ल्याउने र आमा समूहले फूलमालाले स्वागत गर्ने चलन छ ।

भूमे पूजाको अवसरमा चिमखोलामा परम्परागत मेला लाग्ने गर्छ । मेलामा टोपा नाच, जुरेचल्ला, दुलहा–दुलहीको कलस जुँधाउने नाच, थाली नाचलगायत मौलिक कला र संस्कृति प्रदर्शन गरिन्छ ।

भूमे पूजाको दिन चिम खोलाको मण्डली र ताप्केभेरा थानमा पनि विशेष पूजा हुने गरेको छ । भाकल र मनोकामना पूरा हुने विश्वासका कारण मण्डली थानमा विभिन्न ठाउँबाट भक्तजन आउने क्रम बढ्दै गएको छ ।

Logo