अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
693
Shares

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सञ्चालनमा रहेका अवैध खानी तथा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग आसपासको स्थलगत निरीक्षणका क्रममा उनले मापदण्डविपरीत सञ्चालन भइरहेका उद्योगमाथि कडाइ गर्न सरोकारवाला निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले अनियन्त्रित गिट्टी–बालुवा उत्खननका कारण विपद् जोखिम बढेको उल्लेख गर्दै यसमा संलग्नलाई कारबाही गरिने चेतावनी दिए। उनले विगतमा राजनीतिक संरक्षणका कारण यस्ता गतिविधि बढेको आरोप लगाउँदै अब त्यस्तो सह्य नहुने बताए। गत वर्षको बाढीपहिरोले सो क्षेत्रमा ठूलो जनधनको क्षति भएको स्मरण गराउँदै उनले यस्ता घटनाको पुनरावृत्ति रोक्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।

उनले अवैध मात्र होइन, वैध रूपमा सञ्चालनमा रहेका उद्योगहरूको पनि मापदण्डअनुसार छानबिन गरिने जानकारी दिए। साथै, सम्भावित विपद्लाई ध्यानमा राखेर सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

Logo