काठमाडौं । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपति देव पाण्डेले तयारी पोशाक क्षेत्रको दिगो विकास र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सरकारले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित ‘तयारी पोशाकको निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यो क्षेत्र श्रममा आधारित व्यवसाय भएकाले यसको प्रवर्द्धनबाट तत्कालै ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको औंल्याएका हुन् ।
अध्यक्ष पाण्डेले उद्योगीहरूले भोग्नुपरेका प्रशासनिक र नीतिगत ढिलासुस्तीप्रति कडा आपत्ति जनाए । निर्यात प्रोत्साहन सम्बन्धी नयाँ कार्यविधि बने पनि हालसम्म कुनै पनि व्यवसायीले त्यसबाट लाभ पाउन नसकेको र सम्बन्धित फाइलहरू अर्थ मन्त्रालयमा अड्किएर बसेको उनले जानकारी दिए। “पुरानो कार्यविधि खारेज भएर नयाँ आए पनि व्यवसायीहरू अझै अन्योलमा छन्, सरकारले प्रक्रियागत गाँठो फुकाउनु अत्यन्त आवश्यक छ,” उनले भने।
विगतमा सञ्चालनमा रहेका १२८० भन्दा बढी उद्योगहरूको सङ्ख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै पाण्डेले कपास विकास समिति जस्ता महत्त्वपूर्ण निकायहरू खारेज हुनु र संरचनात्मक सुधारका कार्यहरू अन्तिम चरणमा पुगेर पनि रोकिनु उद्योगका लागि घातक भएको बताए । उनले सरकारी निकायका कर्मचारीहरूले अनिवार्य रूपमा नेपालमै उत्पादित कपडा (स्वदेशी उत्पादन) प्रयोग गर्ने नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरे । यस्तो कदमले उद्योगहरूलाई ‘अफ-सिजन’ मा पनि टिकिरहन ठूलो मद्दत पुग्ने उनको तर्क थियो।
अध्यक्ष पाण्डेले विभिन्न मन्त्रालयहरूमा थन्किएका उद्योगीका समस्या र फाइलहरूलाई तत्काल अगाडि बढाउन आग्रह गरे । संघले देशका विभिन्न उद्योगहरूको स्थलगत भ्रमण गरी तयार पारेको रिपोर्टका आधारमा आगामी दिनमा रणनीतिक योजनाहरू अघि बढाइने जानकारी दिँदै उनले निजी क्षेत्र र सरकारको साझा प्रयासबाट मात्रै नेपाली अर्थतन्त्रलाई उच्च बनाउन सकिने विश्वास व्यक्त गरे ।































प्रतिक्रिया