काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनमा व्यवसायी भक्तबहादुर हमालले वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
उनले वस्तुगत संघका उपाध्यक्ष नरेश लाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका हुन् । स्वास्थ्य सामग्री तथा प्रयोगशाला उपकरण आपूर्ति क्षेत्रका अनुभवी उद्यमी हमाल रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसन) का पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हुन् । उनी सुदिप इन्टरनेशनल प्रा.लि.का संचालक तथा प्रबन्ध निर्देशकका रूपमा सक्रिय छन् ।
हाल एफएनसीसीआईको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका अध्यक्षका रूपमा कार्यरत हमाल स्वास्थ्य क्षेत्रसँग जोडिएका उद्योग व्यवसायको सशक्त प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा चिनिन्छन् । २६ वर्षभन्दा बढीको व्यवसायिक अनुभवसहित उनी ‘समयको माग’ भएर चुनावी मैदानमा उत्रिएका छन् । ‘लो प्रोफाइल’मा रहेर ठोस र परिणाममुखी काम गर्ने शैलीका हमालले वर्तमान आर्थिक अन्योल चिर्दै समग्र उद्योग व्यवसायको स्तर उन्नयन र सरकारी निकायसँग प्रभावकारी समन्वय गर्न सके मात्रै व्यवसायीहरूको हित संरक्षण हुने विश्वास व्यक्त गरेका छन् । टिम स्पिरिटमा काम गर्ने उनको प्रतिबद्धता छ ।
पहिलो कार्यकालको अनुभवलाई आधार बनाएर पुनः उम्मेदवारी दिएका हमालको मुख्य एजेन्डा स्वास्थ्य सामग्री तथा चिकित्सा क्षेत्रसँग सम्बन्धित उद्योगको विकास, विपद् व्यवस्थापनमा निजी क्षेत्रको भूमिका मजबुत बनाउने र सरकारसँगको सहकार्य मार्फत् गुणस्तरीय स्वास्थ्य सामग्री सहज उपलब्धता सुनिश्चित गर्नु रहेको छ ।
भूकम्पजस्ता विपद्का बेला केमसनको नेतृत्व गर्दै आवश्यक स्वास्थ्य सामग्री जुटाएर सरकार र विभिन्न स्वास्थ्य संस्थालाई सहयोग पुर्याएको उनको नेतृत्व क्षमताले नै वस्तुगत क्षेत्रमा उनलाई विश्वसनीय बनाएको छ ।
व्यावसायिक रूपमा उनी सुदिप इन्टरनेशनल प्रा.लि. मार्फत् नेपालभरि मेडिकल तथा प्रयोगशाला उपकरण, रिएजेन्ट्स, केमिकल्स, ग्लासवेयर र एक्सेसिरिज आपूर्ति गर्दै आएका छन् । ललितपुरको हमाल कम्प्लेक्स (कुपन्डोल, जवागल) मा रहेको यो कम्पनी सन् १९९४ देखि सञ्चालनमा छ र सन् २०१३ मा नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबाट ‘इम्पोर्टर अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । चितवनबाट उद्यमी जीवन सुरु गरेका हमालले स्वास्थ्य क्षेत्रको आयात तथा वितरणलाई व्यावसायिक रूपमा मजबुत बनाएका छन् ।
केमसनका पूर्वअध्यक्ष हमालले २०६५ सालमा संघको स्थापनाकालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रको स्तर उन्नयन, सामग्रीको सहज उपलब्धता र सरकारसँगको समन्वयमा उनको योगदान उल्लेखनीय छ । एफएनसीसीआईमा स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको नेतृत्व गर्दै उनी निजी क्षेत्रको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन निरन्तर क्रियाशील छन् ।
‘लो प्रोफाइल’ तर दृढ इच्छाशक्ति भएका हमाल वस्तुगत क्षेत्रको सशक्तीकरणबाट मात्रै अर्थतन्त्रको वर्तमान चुनौती सम्बोधन गर्न सकिने र व्यवसायीहरूको वृहत्तर हित संरक्षण हुने ठोकुवा गर्छन् । उनले स्वास्थ्य तथा निर्यातजन्य उद्योगसँग जोडिएका नीतिगत सुधार, विपद् पूर्वतयारी र निजी क्षेत्र–सरकार साझेदारीलाई मुख्य प्राथमिकतामा राखेका छन् ।





























प्रतिक्रिया