काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनमा कुरियर तथा लजिस्टिक्स क्षेत्रका अनुभवी व्यवसायी दुर्गा प्रसाद सुवेदी (दीपेश)ले वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्व प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदी कुरियर, लजिस्टिक्स, हस्पिटालिटी र ऊर्जा क्षेत्रका ‘हस्ती’ मानिन्छन् । विगत ३० वर्षभन्दा बढीको ‘ग्राउन्ड लेभल’ अनुभवसहित उनी डिवाइके ग्रुपका अध्यक्ष पनि हुन् । यस अन्तर्गत एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत र अमेरिका) तथा एपेक्स ग्लोबल लोजिस्टिक प्रा.लि. जस्ता कम्पनी सञ्चालन गर्दै आएका छन् । स्वदेश र विदेशमा रहेका नेपाली तथा विश्वका जुनसुकै नागरिकलाई सहज, भरपर्दो र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कुरियर तथा लजिस्टिक्स क्षेत्रमा प्रवेश गरेका सुवेदीले हस्पिटालिटीमा डिवाइके हस्पिटालिटी प्रा.लि. (एपेक्स बिजनेस होटेल) मार्फत योगदान दिएका छन् । यसबाहेक बज्र इनर्जी भेन्चर्स प्रा.लि., भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, कन्भेनियन्ट प्रोडक्ट प्रा.लि. र राजवाला ट्रेक्स एन्ड एक्सपिडिसन प्रा.लि. जस्ता व्यवसायमा पनि सक्रिय छन् ।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–७ मा बुबा भीम प्रसाद सुवेदी र आमा पदम देवी सुवेदीको कोखबाट जन्मिएका सुवेदी हजुरबुबा मोहनलाल सुवेदीको प्रेरणाले मेहनती र लगनशील बने । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि उनी काठमाडौं उपत्यकामा आएर व्यवसायिक यात्रा सुरु गरे । साधारण पृष्ठभूमिबाट उदाएका उनी निरन्तर परिश्रम, इमान्दारिता र रणनीतिक सोचले कुरियर क्षेत्रको ‘गेम चेन्जर’ बनेका छन् ।
नेपाल कुरियर सेवा संघको अध्यक्ष पदमा रहँदा सुवेदीले संस्थालाई व्यावसायिक रूपमा सशक्त बनाए । उनको नेतृत्वमा संघले कुरियर सेवालाई अत्यावश्यक सेवाको रूपमा मान्यता दिलाउन, भन्सार प्रक्रिया सरल बनाउन, २४ घण्टा भ्यान सञ्चालनको नीतिगत पैरवी गर्न र नेपाली डायस्पोरालाई सहज सेवा पु¥याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । यसअघि विभिन्न संघ–संस्थामा सक्रिय रहेका उनी रोटरी इन्टरनेसनल, जेसिआई नेपाल, पतञ्जली योगपीठ र एभरेष्ट चेम्बर अफ कमर्स (भारत) सँग समेत आवद्ध छन् ।
कुरियर तथा लजिस्टिक्स क्षेत्रको चुनौतीपूर्ण यात्रामा सुवेदीको योगदान उल्लेखनीय छ । नेपालको निर्यात–आयात असन्तुलन, ढुवानी पूर्वाधारको अभाव, नीतिगत जटिलता र अन्तर्राष्ट्रिय बजार पहुँचको कमी जस्ता समस्या समाधान गर्न उनले निरन्तर पैरवी गरेका छन् । स्वदेशी उत्पादनको आपूर्ति शृङ्खला मजबुत बनाउने, डिजिटल लजिस्टिक्सलाई प्राथमिकता दिने, हुलाक र एयरलाइन्ससँग समन्वय बढाउने र नेपाली व्यवसायीलाई विश्व बजारसँग जोड्ने उनको दृष्टिकोण छ । अन्तर्राष्ट्रिय फोरममा सहभागी हुँदै नेपाली कुरियर क्षेत्रको मुद्दा उठाएका उनी ओखलढुंगालाई समेत व्यापारिक हब बनाउने सोच राख्छन् ।
‘कुरियर तथा लजिस्टिक्सको आधुनिकीकरण, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’ भन्ने प्रतिबद्धतासहित सुवेदी एफएनसीसीआईमा आएका हुन् ।
वर्तमान आर्थिक मन्दी, उच्च लगानी लागत, पूर्वाधार अभाव र सरकार–निजी क्षेत्रबीचको समन्वय कमी लाई चिर्नु मुख्य चुनौती रहेको उनको स्पष्ट विश्लेषण छ । लो प्रोफाइल तर परिणाममुखी शैलीका सुवेदी सरल, मिलनसार, जुझारु र टिम स्पिरिटमा काम गर्ने नेता मानिन्छन् । उनी बौद्धिक बहसमा सहज प्रवेश गर्छन् र व्यवसायीको हितलाई प्राथमिकतामा राख्छन् ।
एफएनसीसीआईमा सक्रिय रहँदै आएका सुवेदीले वस्तुगत क्षेत्रको हित संरक्षण, नीतिगत सुधार, सप्लाई चेन विकास र आर्थिक कूटनीतिमार्फत नयाँ बजार विस्तारलाई मुख्य एजेन्डा बनाएका छन् ।
कुरियर सेवा संघको सफल नेतृत्व, ३० वर्षको व्यावहारिक अनुभव, विविध व्यवसायिक पोर्टफोलियो, रोटरी–जेसिआई जस्ता सामाजिक संस्थासँगको संलग्नता तथा प्राकृतिक प्रकोपमा आर्थिक तथा शैक्षिक सहयोग जस्ता सामाजिक योगदानले उनलाई वस्तुगत क्षेत्रको विश्वसनीय उम्मेदवार बनाएको छ ।





























प्रतिक्रिया