काठमाडौं ।
प्रदेशसभामा निर्वाचित सांसद राजिप गुरुङ फरार भएका छन् । मनाङको प्रदेशसभाको ख बाट निर्वाचित सांसद गुरुङको खोजीकार्य जारी राखेको छ । महानगरि प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुक भन्छन्, गुण्डा नाइकेका रुपमा चिनिएका दिपक मनाङेलाई पक्राउ गर्न पत्र आएको छ ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो ।
२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।
फैसला कार्यान्वयन गर्न पत्र प्राप्त भएसँगै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली बनाएर दिपक मनाङ्गेको खोजी गरिरहेका छन् ।
महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले मनाङेको खोजी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘हो, अदालतबाट पत्र आईसकेको छ, हामी उनलाई खोजिरहेका छौं ।’
२०६१ सालमा चक्रे मिलनको हात काटेको घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाई दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् ।
सरकारी पक्षले २०७० जेठमा फेरि पुनरावदेन अदालत पाटनको फैसलामा पुनरावलोकन माग गर्दै मनाङे बाहेक अन्य चारजनालई पनि कैद सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए ।
सोही मुद्धाको फैसलाका क्रममा गत मंगलबार चार जनालाई सफाई दिँदै सर्वोच्चका न्यायाधीशहरु दीपक जोशी र पुरुषोत्तम भण्डारीले पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङेको पाँचबर्ष जेल सजाय भएको कुरा बाहिरिएको थियो । अब उनको प्रदेश सभा सदस्य पद पनि शपथ लिएसँगै खारेज हुनेछ ।





























प्रतिक्रिया