काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनमा व्यवसायी हरि बहादुर कार्कीले वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी नरेश लाल श्रेष्ठको प्यानलबाट मैदानमा उत्रिएका हुन् ।
नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्षका रूपमा हरि बहादुर कार्की निर्यात क्षेत्रका ‘हस्ती’ मानिन्छन् । विगत २५ वर्षभन्दा बढीको निर्यात तथा कार्गो व्यवसायको अनुभवसहित उनी पोर्ट एण्ड इम्पोर्टका सञ्चालक, जेनिथ नेपाल कार्गो सर्भिस तथा म्याक्रो ट्रेडर्सका प्रबन्ध निर्देशक, हिमालयन मिट प्रडक्टका निर्देशक र क्यापिटल मार्केटका लगानीकर्ताका रूपमा सक्रिय छन् । ठमेललगायत पर्यटकीय क्षेत्रका करिब ७ सय निर्यात व्यवसायीलाई प्रतिनिधित्व गर्ने परिषद्को २२ औं साधारणसभाबाट २०७६ मा निर्विरोध अध्यक्ष चुनिएका कार्कीले कार्पेट, गार्मेन्ट, पश्मिना, हस्तकला जस्ता नेपाली उत्पादनको प्रवद्र्धनमा निरन्तर नेतृत्व दिएका छन् ।
एफएनसीसीआईको कार्यकारिणी समिति सदस्य (२०२३–२०२६) को रूपमा सेवा गरिरहेका कार्की हाल खेलकुद तथा मनोरञ्जन फोरमका अध्यक्ष, व्यापार मेला समिति सदस्य र द्विराष्ट्रिय तथा गैरआवासीय नेपाली समन्वय फोरमका सह–सभापतिका रूपमा पनि सक्रिय छन् । नेपाल हस्तकला महासंघको प्रथम उपाध्यक्ष भएर पनि उनी वस्तुगत क्षेत्रको सशक्तीकरणमा योगदान दिइरहेका छन् ।
निर्यात व्यापारको चुनौतीपूर्ण यात्रामा कार्कीको नेतृत्व उल्लेखनीय छ । कोभिड–१९ महामारीका बेला हवाई भाडा त्रिगुण बढ्दा, भू–मार्ग अवरुद्ध हुँदा र डलर सट्टेपट्टामा ५० मा ४० मात्र प्राप्त हुने नीतिगत बाधाका बाबजुद उनले परिषद्मार्फत् सरकार र राष्ट्र बैंकलाई १५ बुँदे सुझाव दिए । मौद्रिक नीतिमा निर्यात कर्जा शतप्रतिशत उपलब्ध गराउने, अनलाइन कारोबारलाई पारदर्शी बनाउने, आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र ग्रामीण क्षेत्रका खेर जाने उत्पादन प्रशोधित यार्सागुम्बा, हिमाली ग्लासियर वाटरलाई निर्यातमुखी बनाउने उनको सुझावले क्षेत्रलाई नयाँ दिशा दिएको छ । बजेटमा निर्यातजन्य व्यवसायलाई ‘मल्हम’ लगाउने प्रयासको स्वागत गर्दै उनले कार्यान्वयनको जोड दिएका थिए ।
‘निर्यात व्यापारको सुधार, अर्थतन्त्रको मुल आधार, आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’ भन्ने नारासहित कार्कीले पुनः उम्मेदवारी दिएका छन् । वर्तमान आर्थिक मन्दी, निर्यात अनुपात १ः१६ जस्तो असन्तुलित अवस्था र निजी क्षेत्र–सरकार समन्वयको अभावलाई चिर्नु नै मुख्य चुनौती रहेको उनको स्पष्ट विश्लेषण छ । लो प्रोफाइल तर परिणाममुखी शैलीका कार्की सरल, स्पष्ट, मिलनसार र जुझारु नेता मानिन्छन् । उनी बौद्धिक बहसमा सहजै प्रवेश गर्छन् र व्यवसायीको हितमा ‘टिम स्पिरिट’ मा काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।
एफएनसीसीआईमा निरन्तर सक्रिय रहँदै आएका कार्कीले वस्तुगत परिषद् तथा समितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै निर्यात प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्न दबाब दिइरहेका छन् । पहिलो कार्यकालको अनुभवलाई आधार बनाएर पुनः उम्मेदवारी दिएका उनको मुख्य एजेन्डा निर्यात प्रणालीको आधुनिकीकरण, आर्थिक कूटनीतिको मजबुतीकरण, उत्पादनमूलक उद्योगको विकास, विपद् तथा संकटमा निजी क्षेत्रको भूमिका विस्तार र सरकारसँगको प्रभावकारी समन्वय मार्फत् वस्तुगत क्षेत्रको हित संरक्षण रहेको छ ।
निर्यात परिषद्को सफल नेतृत्व, एफएनसीसीआईको निरन्तर योगदान र २५ वर्षको ‘ग्राउन्ड लेभल’ अनुभवले उनलाई वस्तुगत क्षेत्रको विश्वसनीय उम्मेदवार बनाएको छ । यदि निर्वाचित भएमा उनी प्रधान र हमालसँग मिलेर वस्तुगत क्षेत्रलाई थप एकीकृत, निर्यातमुखी र अर्थतन्त्रको मजबुत खम्बा बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया