काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले सरकारी वकिलको सहमतिमा ‘आवश्यक परे उपस्थित हुने’ सर्तसहित रिहाइ प्रक्रिया अघि बढाएको हो।
भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसपछि उनीहरूलाई चैत १४ मा पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला अदालतबाट म्याद थप हुँदै अनुसन्धान अघि बढाइएको भए पनि सर्वोच्च अदालतले चैत २३ मा बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थुनामा राख्ने थप म्याद नथप्न आदेश दिएको थियो।
अदालतले अनुसन्धान पूरा नभए पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार हाजिरी जमानीमा राखेर थप अनुसन्धान गर्न सकिने व्यवस्था लागू गर्न निर्देशन दिएको हो। प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धान अझै जारी छ।
“फाइल बन्द भएको छैन, अनुसन्धान चलिरहेकै छ,” स्रोतले जनाएको छ।
मन्त्रिपरिषद्ले पनि गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ। घटनापृष्ठभूमिमा भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको थियो। सो समय ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए।





























प्रतिक्रिया