उपसभामुखमा साझा उम्मेदवार बनाउन विपक्षी दलहरू कसरतमा

उपसभामुखमा साझा उम्मेदवार बनाउन विपक्षी दलहरू कसरतमा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि साझा उम्मेदवार तय गर्ने विषयमा विपक्षी दलहरूबीच छलफल तीव्र बनेको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका नेताबीच साझा उम्मेदवारीबारे निरन्तर संवाद भइरहेको छ । एमाले सांसद गुरु बरालका अनुसार दलहरूबीच फोन सम्पर्कसमेत भई सहमति नजिक पुग्ने प्रयास भइरहेको छ ।

“साझा उम्मेदवार तय गर्ने विषयमा छलफल चलिरहेको छ, छिटै निष्कर्ष आउन सक्छ,” सांसद बरालले बताएका छन्। स्रोतका अनुसार दलहरू एक घण्टाभित्रै अन्तिम निष्कर्षमा पुग्ने गरी छलफल केन्द्रित गरिरहेका छन्।

तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। सभामुख पद रास्वपाले लिइसकेको सन्दर्भमा अब उपसभामुख अर्को दलबाट चयन हुने राजनीतिक समीकरण बनेको छ ।

सभामुख पुरुष भएकाले उपसभामुख महिला हुने सम्भावना बलियो मानिएको छ । उपसभामुख जित्न रास्वपाको समर्थन निर्णायक हुने देखिन्छ । संघीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकेको छ । त्यसपछि शुक्रबार उपसभामुखको निर्वाचन हुनेछ ।

दलहरूबीचको सहमति अन्तिम चरणमा पुगेको दाबी भइरहेका बेला अब सबैको नजर संसदको गणित र अन्तिम उम्मेदवारमा केन्द्रित भएको छ।

Skip This
Skip This
Logo