नेपालमा पहिलोपटक हार्वर्ड हेल्थ ह्याकाथनः द ब्रिटिस कलेज बन्यो क्षेत्रीय हब

नेपालमा पहिलोपटक हार्वर्ड हेल्थ ह्याकाथनः द ब्रिटिस कलेज बन्यो क्षेत्रीय हब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको नवप्रवर्तन र प्रविधि क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै थापाथलीमा रहेकाे द ब्रिटिस कलेजले ‘हार्वर्ड हेल्थ ह्याकाथन’को क्षेत्रीय हबको रूपमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको छ।

हार्वर्ड टी.एच. च्यान स्कूल अफ पब्लिक हेल्थ अन्तर्गतको ‘हेल्थ सिस्टम्स इनोभेसन ल्याब’को पहलमा आयोजित यो सातौं वार्षिक हेल्थ सिस्टम्स इनोभेसन ह्याकाथन हो।

काठमाडौंमा पहिलो पटक आयोजना गरिएको यस विश्वस्तरीय प्रतिस्पर्धाले नेपाली युवा आविष्कारकहरूलाई काठमाडौंबाट सिधै क्याम्ब्रिज, म्यासाचुसेट्ससम्म जोड्ने अवसर प्रदान गरेको छ।

द ब्रिटिस कलेजको कन्फरेन्स हलमा आयोजित यस क्षेत्रीय छनोटमा १८ वटा दर्ता भएका टोलीहरूले सहभागिता जनाएका थिए। सहभागी टोलीहरूले स्वास्थ्य क्षेत्रका जटिल समस्याहरू समाधान गर्न आर्किफिसियल इन्टेलिजेन्स, सहायक प्रविधि, पुनर्स्थापना समाधान र सामुदायिक स्वास्थ्यका क्षेत्रमा नवीन सोचहरू प्रस्तुत गरेका थिए।

काठमाडौं विश्वविद्यालयको ‘नेसनल टेक्नोलोजी इनोभेसन सेन्टर’सँगको सहकार्यमा सम्पन्न यस कार्यक्रममा टीबीसी इन्क्युवेसन सेन्टरले क्षेत्रीय हबको भूमिका निर्वाह गरेको थियो। यहाँबाट छनोट भएका उत्कृष्ट टोलीहरूले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन् र राष्ट्रिय हबबाट छानिने टोलीले आगामी जुन २०२६ मा बोस्टन, अमेरिकामा हुने अन्तर्राष्ट्रिय फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछ।

कार्यक्रमको उद्घाटन गर्दै द ब्रिटिस कलेजका सीईओ राजेन कण्डेलले कलेजले शिक्षा मात्र नभई नवप्रवर्तनका लागि बलियो प्लेटफर्म समेत निर्माण गरिरहेको बताए ।

त्यसैगरी, कलेजका ग्रुप मार्केटिङ हेड अमरदीप मण्डलले भने— “हार्वर्ड हेल्थ ह्याकाथनलाई नेपाल ल्याउनुले हाम्रा विद्यार्थीहरूलाई विश्वव्यापी रूपमा सोच्न र स्थानीय रूपमा काम गर्न सशक्त बनाउने हाम्रो दृष्टिकोणलाई थप सुदृढ बनाएको छ।”

कार्यक्रमको समापन सत्रमा टीबीसी इन्क्युवेसन सेन्टरका प्रमुख गणेश पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने कलेजका कन्ट्री डाइरेक्टर अरुण कुमार कण्डेलले समापन मन्तव्य राखेका थिए ।

नेपालमा यस्तो प्रतिष्ठित ह्याकाथनको आयोजना हुनुले यहाँको स्टार्टअप र नवप्रवर्तन संस्कृति परिपक्व हुँदै गएको संकेत गर्दछ। टीबीसी इन्क्युवेसन सेन्टरले नेपाली विद्यार्थी र युवा पेशेवरहरूको प्रतिभालाई विश्वव्यापी मञ्चसम्म पुर्‍याउन निरन्तर पुलको काम गरिरहेको छ। अब बोस्टनमा हुने फाइनलमा नेपालले विश्वका अन्य उत्कृष्ट आविष्कारकहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

Logo