काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले वस्तुगत तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
अधिकारीले वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेको प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
औषधि उत्पादन क्षेत्रमा लामो अनुभव र नेतृत्व क्षमता भएका अधिकारीले उद्योगी व्यवसायीहरूको हकहित र उद्यमशीलता प्रवद्र्धनका लागि महासंघको केन्द्रीय नेतृत्वमा जान लागेको बताएका छन् । एपोनको सदस्यदेखि सुरु गरेर महासचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका उनले आफ्नो कार्यकालमा औषधि क्षेत्रलाई नयाँ उचाइ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । गत साउनमा सम्पन्न एपोनको ३१औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित अधिकारी औषधि उद्योगका समस्या र समाधानका उपायबारे प्रष्ट दृष्टिकोण राख्ने नेताका रूपमा चिनिन्छन्।
इनोभेटिभ फर्मा ल्याब प्रालिका प्रबन्ध निर्देशक समेत रहेका अधिकारीले नेपाली औषधि उद्योगले भोग्नुपरेका प्रक्रियागत र नीतिगत कठिनाइहरूलाई नजिकबाट बुझेका छन् । “नेपालमा औषधि उद्योग सञ्चालन गर्न निकै चुनौती छ,” उनको भनाइ छ। यद्यपि, यस्ता चुनौतीका बीच पनि स्वदेशी उत्पादन बढाएर आयातमा रहेको परनिर्भरता घटाउने र नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने (निर्यात प्रोत्साहन) लक्ष्य उनले राखेका छन् ।
नेपालको औषधि क्षेत्र यतिबेला गुणस्तर कायम राख्न, नियमनकारी निकायसँगको समन्वय र बजार विस्तारको चुनौतीबाट गुज्रिरहेको छ। यस्तो संवेदनशील समयमा अधिकारी जस्तो अनुभवी र सक्रिय नेतृत्व महासंघमा पुग्दा समग्र औषधि उद्योग मात्र नभई वस्तुगत संघहरूका साझा समस्या समाधानमा समेत बल पुग्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया