पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा तीव्र काम

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा तीव्र काम

केन्द्रबिन्दु
6
Shares

गण्डकी। आगामी असारसम्म निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा काम तीव्र पारिएको छ। पोखराको सेती पुलदेखि तनहुँको जामुनेसम्मको खण्डमा भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ।

३८.७१ किलोमिटर लामो यस सडकखण्डमध्ये ३७.२८ किमीमा दोस्रो तहको कालोपत्र भइसकेको छ। ३६.३२ किमी सर्विस लेनमध्ये १७.६६ किमीमा कालोपत्र गरिएको छ। १०५ वटा कल्भर्ट निर्माण भइसकेका छन् भने नाली निर्माण अन्तिम चरणमा छ। १३ मध्ये १२ वटा पुल तयार भइसकेका छन्।

सेती पुल निर्माणाधीन अवस्थामा छ। रोड मार्किङ, सेफ्टी ब्यारीअर जडान लगायतका काम पनि जारी छन्। चार लेनतर्फ केही सय मिटर कालोपत्र मात्र बाँकी रहेको जनाइएको छ।

यस खण्डमा २०.५५ किमी चार लेन र १८.१६ किमी छ लेन सडक निर्माण भइरहेको छ। तालचोक–डाँडाकोनाक र खैरेनीटार–दुलेगौँडामा सेफ्टी ब्यारीअर जडान तथा जामुने–दुलेगौँडामा रोड मार्किङको काम भइरहेको छ।

यस वर्ष मात्र ३३.७८ किमी चार लेन सडकमा दोस्रो तहको कालोपत्र गरिएको छ। साथै सर्विस लेन, पुल र कल्भर्ट निर्माणमा पनि प्रगति भएको छ।

सडक विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेको छ। सेती नदीमा ‘केबल–स्टेड’ प्रविधिको सिग्नेचर पुल निर्माण भइरहेको छ, जसको प्रगति करिब ५८ प्रतिशत पुगेको छ। केबल लगायत सामग्री ढिलाइका कारण पुल निर्माणमा केही समय थपिएको छ।

Logo