वीरगञ्ज। पर्साको तिलाबे नदीमा बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ । पुल निर्माण रोकिएको झन्डै डेढ वर्षपछि वैकल्पिक रूपमा बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो।
वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने तिलाबे नदीमा यसअघि निर्माणाधीन पुल बाढीका कारण क्षतिग्रस्त भएपछि काम रोकिएको थियो । पुल अभावमा स्थानीयवासीले लामो समयदेखि आवतजावतमा समस्या भोग्दै आएका छन् ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार क्षतिग्रस्त पुलभन्दा केही तल करिब ४८ मिटर लामो बेलिब्रिज निर्माण भइरहेको छ। यसका लागि गत मङ्सिर २९ गते रु २ करोड ४६ लाख ६० हजारमा ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कम्पनी ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सनका अनुसार हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। ठेक्का सम्झौताअनुसार पुल २०८३ वैशाख अन्तिमसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल सो क्षेत्रमा अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालन भइरहेको छ। पुल निर्माण सम्पन्न भएपछि वीरगञ्जबाट ग्रामीण क्षेत्रमा जाने यातायात सहज हुने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया