काठमाडाैं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड एलजी इलेक्ट्रोनिक्सले दक्षिण कोरियाको बुसानमा आयोजित ‘एलजी इनोफेस्ट २०२६ एपाक’मार्फत एसिया-प्रशान्त क्षेत्रका लागि आफ्नो नयाँ आविष्कार र वृद्धि रणनीति सार्वजनिक गरेको छ।
अप्रिल ७ देखि १० सम्म चलेको यस भव्य समारोहमा एसियाका करिब २० देशका २०० भन्दा बढी व्यावसायिक साझेदार र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
“इन्नोभेसन, फरवार्ड टुगेदर” भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा एलजीले विशेषगरी एसियाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई सम्बोधन गर्ने गरी तयार पारिएका लाउन्ड्री, किचन र बिल्ट-इन होम सोलुसनहरू प्रदर्शन गरेको छ। कम्पनीले आफ्नो ‘एआई होम’ भिजनलाई प्राथमिकतामा राख्दै आर्टिफिसियल इन्टेलिजेन्स र के-टेकको समिश्रणबाट घरेलु उपकरणहरूलाई कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने कुरालाई विशेष जोड दिएको छ।

लाउन्ड्रीतर्फ एलजीले एसियाली घरहरूको बनावट र सीमित स्थानलाई मध्यनजर गर्दै नयाँ २५ इन्चको ‘वासटावर’ सार्वजनिक गरेको छ। यसमा प्रयोग गरिएको ‘एआई डीडी’प्रविधिले लुगाको प्रकृति र फोहोरको मात्रा पहिचान गरी धुने प्रक्रियालाई आफैँ अनुकूलन गर्दछ।
त्यस्तै, किचनतर्फ कम्पनीले ‘फिट एन्ड म्याक्स’ डिजाइनका फ्रिजहरू ल्याएको छ, जसले भान्साको कम ठाउँमा पनि आकर्षक लुक र बढी भण्डारण क्षमता प्रदान गर्दछ। एलजीले दक्षिण-पूर्वी एसियाली बजारका लागि विशेष ‘बिल्ट-इन किचन कलेक्सन’ समेत प्रदर्शन गरेको छ, जसमा आन्तरिक क्यामेरा जडान गरिएको एड्भान्स्ड ओभन मुख्य आकर्षण बनेको छ।
प्रदर्शनीमा एलजीले आफ्नो ‘थिंक अन’ हबमार्फत घरका सबै उपकरणहरूलाई एकआपसमा जोड्ने एआई होम अनुभव पनि प्रस्तुत गरेको छ। यो प्रविधि अष्ट्रेलिया र थाइल्याण्डबाट सुरु भई क्रमशः अन्य एसियाली बजारहरूमा विस्तार गरिने कम्पनीले जनाएको छ। साथै, ग्राहकहरूलाई उपकरण खरिद र मर्मतमा सहजता प्रदान गर्न एलजीले मलेसिया, ताइवान र भियतनाम लगायतका देशहरूमा ‘एलजी सब्स्क्राइब’ सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ।

एलजी इलेक्ट्रोनिक्स एसिया प्यासिफिकका क्षेत्रीय सीईओ जेसेङ किमले एसियाली बजार कम्पनीका लागि अत्यन्तै गतिशील र महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रविधिको माध्यमबाट स्थानीय जीवनशैलीलाई सहज बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए । कार्यक्रमको अन्त्यमा कम्पनीले आफ्ना साझेदारहरूसँगको सहकार्यलाई थप बलियो बनाउँदै एसियामा आफ्नो बजार हिस्सा अझै विस्तार गर्ने लक्ष्य राखेको छ।





























प्रतिक्रिया