पोखरा । पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तीन जना अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामध्ये यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङको गलकोट नगरपालिका–२ का सेवाग्राही हिमबहादुर बस्नेत थापा रहेका छन् ।
अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा सरकारी अभिलेखमा अनधिकृत रूपमा विवरण सच्याउने, थपघट गर्ने तथा हेरफेर गरी नक्कली सवारी चालक अनुमतिपत्र तयार पारेको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान विवरणअनुसार जारी नै नभएको पुरानो लाइसेन्स नम्बरको आधारमा नयाँ अभिलेख कायम गरिएको र लामो समयसम्म वैध देखिने गरी गलत विवरण प्रविष्ट गरिएको पाइएको छ । सोही आधारमा प्रतिलिपि समेत जारी गरिएको थियो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार हिम बहादुर बस्नेत थापाको नाममा ’ए’ र ’बी’ वर्गको पुरानो सवारी चालक अनुमतिपत्र नम्बर ’डीएल ०८–४२४८२’ जारी नै नभएको जानकारी हुँदाहुँदै सरकारी अभिलेखमा विवरण प्रविष्ट गरिएको थियो ।
कर्मचारीहरुले सरकारी सार्वजनिक अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरी नयाँ अनुमतिपत्र नम्बर ’०१–०७–०१०३५२८०’ कायम गरेका थिए । जसमा जारी मिति २०५८ साल चैत २७ गते र समाप्त हुने मिति २०७८ साल चैत २२ गते उल्लेख गरिएको थियो । २० वर्षसम्म बहाल रहने गरी सवाारी चालक अनुमतिपत्र सहितको गलत लिखत तयार पारी २०७८ साल चैत १५ गते सोको प्रतिलिपि समेत दिएको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ ।
तत्कालीन कर्मचारीलाई सरकारी अभिलेख दुरुपयोग तथा झुट्टा विवरण तयार गरेको आरोप लगाइएको छ भने सेवाग्राहीलाई समेत मतियारको रूपमा समान सजाय माग गरिएको छ ।
अख्तियारले यो प्रकरणलाई सरकारी अभिलेख दुरुपयोग गरी सार्वजनिक सेवा प्रणालीमा भएको गम्भीर अनियमितताको उदाहरणका रूपमा लिएको छ ।





























प्रतिक्रिया