काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक थप कागजात, बिल वा रसीद माग्ने भ्रम चिर्दै कडा स्पष्टिकरण जारी गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचनामार्फत् “श्रम स्वीकृति र राहदानी मात्र पर्याप्त छ, अरू केही चाहिँदैन” भनेको छ ।
विभागले वैदेशिक रोजगार विभागको चैत २३ गतेको सूचनापछि उत्पन्न भएको अन्योल र विमानस्थलमा देखिएको व्यावहारिक झन्झटप्रति तत्काल ध्यानाकर्षण गरेको हो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकसँग अतिरिक्त कागजात मागिएको गुनासो सार्वजनिक भएपछि विभागले यो स्पष्टिकरण दिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार भिजिट भिसामा विदेश जाने सामान्य नेपाली नागरिकका लागिः कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा नै पर्याप्त छ । स्वघोषणा सहित प्रस्थान प्रक्रिया सरलीकृत गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमाः वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानी मात्र आधारभूत र पर्याप्त कागजात हुन् । यसबाहेक अध्यागमन कार्यालयमा कुनै पनि थप कागजात, बिल, रसीद वा अन्य प्रमाणपत्र पेश गर्नुपर्ने बाध्यता छैन ।
विभागले सम्बन्धित सबै पक्षलाई अनावश्यक कागजात माग्ने वा श्रमिकलाई झन्झट दिने कार्य तत्काल रोक्न समेत कडा आग्रह गरेको छ । “विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै किसिमको भ्रममा नपरी, आफ्नो गन्तव्य र यात्राबारे पूर्ण सुसूचित भएर निर्धक्कसँग यात्रा गर्न सक्नेछन्,” सूचनामा भनिएको छ ।
यो स्पष्टिकरणपछि वैदेशिक रोजगारीमा जाने लाखौं नेपाली श्रमिकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । यसअघि विमानस्थलमा देखिएको कागजातको होडबाजी र अन्योलले श्रमिकहरूलाई मानसिक तथा व्यावहारिक दबाब दिइरहेको थियो ।
अध्यागमन विभागको यो कदमले वैदेशिक रोजगारलाई थप व्यवस्थित, सरल र श्रमिकमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । अब श्रमिकहरूले कानुनीरूपमा पर्याप्त कागजात बोकेर मात्र विमानस्थल पुग्नुपर्ने छ । जसले थप कुनै ‘अतिरिक्त प्रमाण’ को बोझ बोक्नुपर्ने बाध्यता हुने छैन ।





























प्रतिक्रिया