सन्जुको विस्फोटक शतक र ओभरटनको घातक बलिङले चेन्नई सुपर किंग्सले दिल्लीमाथि निकाल्यो २३ रनको रोमाञ्चक जित

सन्जुको विस्फोटक शतक र ओभरटनको घातक बलिङले चेन्नई सुपर किंग्सले दिल्लीमाथि निकाल्यो २३ रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चौथो खेलमा पहिलो जित हासिल गरेको छ । घरेलु मैदान एम चिदम्बरम रंगशालामा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै चेन्नईले आफ्नो सिजनलाई नयाँ लय दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनायो। ओपनर सन्जु सामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रनको विस्फोटक शतकीय पारी खेले । आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड हर्ट भए भने शिवम दुबे २० रनमा अविजित रहे ।

रुतुराज गायकवाडले १५ रन जोडे । दिल्लीका लागि कप्तान अक्षर पटेलले १ विकेट लिए । जवाफमा २१३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रनको सर्वाधिक योगदान दिए । पथुम निसान्काले ४१, आशुतोष शर्माले १९, केएल राहुलले १८ र डेभिड मिलरले १७ रन बनाए ।

चेन्नईको बलिङमा जेमी ओभरटनले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा मात्र १८ रन खर्चिएर ४ विकेट लिए । अंशुल कम्बोजले ३ विकेट हात पार्दा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १–१ विकेट लिए ।

यो जितसँगै ४ खेलमा २ अंक जोडेको चेन्नई सुपर किंग्स अंक तालिकाको १०औं स्थानबाट नवौं स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको दिल्ली क्यापिटल्स समान ४ खेलमा ४ अंकसहित चौथो स्थानमा यथावत छ । सन्जु सामसन र जेमी ओभरटनको प्रेरणादायी प्रदर्शनले चेन्नईको अभियानलाई नयाँ ऊर्जा दिएको छ भने दिल्लीको मध्यम सुरुवातलाई ठूलो धक्का पुगेको छ ।

Logo