काठमाडाैं । नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी आयोजित युथ लिडरसिप प्रोग्राम २०२६ को पहिलो कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइकलिङ्ग स्पोट्र्स क्षेत्रमा संलग्न ६८ जना युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रम नेपाली मोटरस्पोट्र्स तथा सुरक्षित मोविलिटीको क्षेत्रमा भावी नेतृत्व विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले मोटरस्पोट्र्स नेपाली युवाहरूको खास खेलका रूपमा विकसित हुँदै गइरहेको उल्लेख गर्दै यस्ता नेतृत्व विकास कार्यक्रमहरूले युवालाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा परिषद्का कार्यकारी सदस्य सुबर्ण केसरी श्रेष्ठ तथा पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले समेत शुभकामना दिएका थिए ।
कार्यक्रमको सुरुवातमा कार्यक्रम को–अर्डिनेटर कमला छेत्रीले सबै सहभागीलाई स्वागत गर्दै यस कार्यक्रमले मोटरस्पोट्र्स, एड्भेञ्चर टुरिजम, मोबिलिटी तथा सुरक्षित यातायात क्षेत्रमा भविष्यका जिम्मेवार र दूरदर्शी नेतृत्व उत्पादन गर्ने विश्वास व्यक्त गरे । यस कार्यक्रमले नेतृत्व भनेको पद मात्र नभई जिम्मेवारी, दृष्टिकोण र सकारात्मक परिवर्तन ल्याउन क्षमता विकास गर्ने पनि उल्लेख गरे ।
अर्न्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइए) सँगको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्गत डिसेम्बरसम्म सञ्चालन हुने १२ वटा सत्रहरू (फिजिकल, भर्चुअल र प्राक्टिकल) मार्फत सहभागीहरूलाई विभिन्न पाँच प्रमुख विषयमा तालिम प्रदान गरिनेछ, जसमा मोटरस्पोट्र्स व्यवस्थापन, रोड सेफ्टी, मिडिया तथा कम्युनिकेशन, खेल नवप्रवर्तन तथा एफआइए लिगेसी, टुह्विल तथा एड्भेञ्चर टुरिजम समावेश गरिएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ वक्ताहरूले आफ्ना प्रस्तुति दिएका थिए । स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष तथा नाइमा नेपालका बोर्ड मेम्बर सौरभ ज्योतिले मोटरस्पोट्र्स, रोड सेफ्टी र कर्पोरेट क्षेत्रबीचको सम्बन्धबारे प्रकाश पारे भने खेल विज्ञ सुलोचना सिजाख्वाले दीर्घकालीन राइडररखेलाडी विकास चक्रबारे प्रस्तुति दिए । त्यसैगरी साउथ एशिया एन्टि डोपिङ एजेन्सिका डा. ज्ञानेन्द्र शाहले मोटरसाइकल सुरक्षा तथा एन्टि डोपिङ, कर्पोरेट ट्रेनर सुरेश आचार्यले लिडरशिप, क्रियटीभिटि र टिमवोर्क तथा कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल डा. अभिषेक श्रेष्ठले भविष्यका कार्यक्रम र मेन्टोरशिपको महत्वबारे प्रस्तुति दिए ।
कार्यक्रमका क्रममा अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (फआइएम), अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय पावरबोटिङ्ग युनियन (युआइएम), र ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टी लगायत अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण दस्तावेजहरू समेत सहभागीहरूबिचमा सेयर गरिएको थियो ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यकारी निर्देशक गोविन्द भट्टराईले सहजीकरण गरेका थिए । साथै सल्लाहकार ठाकुर न्यौपाने, बरिष्ट उपाध्यक्ष डा. बुलन्द थापा र उपाध्यक्ष सिताराम न्यौपाने लगायतका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै मोटरसाइकल कमिसनका प्रमुख तथा उपाध्यक्ष अनिल कुमार बरालले नेपाली मोटरस्पोट्र्स अब प्रौढबाट युवातर्फ, केन्द्रबाट स्थानीयतर्फ, एमेच्योरबाट टुरिजमतर्फ र पावरबाट प्रविधितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आगामी कार्यक्रम अर्को महिना कुमारीपाटीस्थित कान्तिपुर भ्याली कलेजमा आयोजना गरिने जानकारी दिइयो ।
यस किसिमको युवा नेतृत्व विकास अभियानले नेपाली मोटरस्पोर्टस्मा एक नयाँ आयाम थपिने विश्वास नासा नेपालले जनाएको छ ।





























प्रतिक्रिया