काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लिभरपुललाई पूर्ण रूपमा परास्त गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । मंगलबार राति एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले लिभरपुललाई २–० ले हराएको हो । यससँगै समग्र स्कोर ४–० रहेको छ ।
पहिलो लेगमा पनि पीएसजीले घरेलु मैदानमा लिभरपुललाई २–० ले नै पराजित गरेको थियो । दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ओस्मान डेम्बेलेले आफ्नो क्लास देखाए । उनले ७२औं मिनेटमा टोलीलाई अग्रता दिलाए भने इन्जुरी समयमा दोस्रो गोल थप्दै जितलाई सुनिश्चित गरे । दुवै गोल डेम्बेलेको नाममा रहेको यो प्रदर्शनले उनलाई खेलको नायक बनायो ।
एनफिल्डमा लिभरपुलले दोस्रो हाफमा लगातार दबाब सिर्जना गरे पनि गोल गर्न असफल रह्यो । भीएआरले एक पेनाल्टी निर्णय उल्ट्याएपछि लिभरपुलको पुनरागमनको सम्भावना पूर्ण रूपमा समाप्त भयो । घरेलु टोलीले आक्रमणमा तीव्रता बढाए पनि पीएसजीको रक्षापङ्क्तिले कुनै मौका दिएन ।
यो जितसँगै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले सेमिफाइनलमा बायर्न म्युनिख र रियल मड्रिडबीचको क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अर्कोतर्फ, सोही राउन्डमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई समग्र ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । पीएसजीको यो प्रदर्शनले साविक विजेताको रूपमा उसको दबदबा कायम रहेको स्पष्ट संकेत दिएको छ । लिभरपुल भने युरोपेली प्रतियोगिताबाट बाहिरिने दुःखद यात्रामा रहेको छ ।































प्रतिक्रिया