डोटी, ४, काठमाडौं
प्रदेश नम्बर ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबार देखि डोटीमा पुनः बन्द आह्वान गरिएको छ । यस अघि पनि प्रदेश राजधानी माग गर्दै यहाँ एक हप्ता लामो आमहड्ताल भइसकेको छ । सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका सबैले आ–आफ्नो नागरिकता सोही कार्यालय मार्फत सरकारलाई फिर्ता गर्ने निर्णय भएको आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।
‘हामीले पाएको अधिकार कटौती गरेर गैरनागरिकको व्यवहार गरिन्छ भने नागरिकता प्रमाण पत्रको के काम ?’ खड्काले भने, ‘यदि हामी माथि अन्याय भयो भने जस्तो सुकै मूल्य चुकाउन पनि तयार छौँ ।’ यसैबीच प्रदेश नं ७ को राजधानी दिपायलमा हुनु पर्ने माग राख्दै डोटीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन् । आन्दोलन संयोजन समितिको मंगलबार बसेको बैठकले बुधबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । उता धनकुटा र वीरगंज पनि यहि विषयमा अशान्त बनेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया