विश्व मञ्चमा एरिका गुरुङले फहराइन नेपाली झण्डा, पुगिन डब्लुकेएफ विश्व वरीयताको दोस्रो नम्बरमा

विश्व मञ्चमा एरिका गुरुङले फहराइन नेपाली झण्डा, पुगिन डब्लुकेएफ विश्व वरीयताको दोस्रो नम्बरमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चीनको लेशानमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक जितेपछि नेपालकी एरिका गुरुङले विश्व कराते महासंघको महिला कुमिते ६८ केजी माथी तौलसमूहमा ऐतिहासिक फड्को मारेकी छन् ।

रजत पदक जित्नुअघि ११औं स्थानमा रहेकी एरिकाले नेपाली कराते इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेकी हुन् । एरिकाको यो फड्को सामान्य भने पक्कै होइन । प्रिमियर लिगमा दुई रजत र एक कांस्यसहित निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनलाई विश्वकै शीर्ष हैसियतमा स्थापित गरेको हो ।

डब्लुकेएफ कराते वान प्रिमियर लिगमा अपराजित यात्रा गरेर फाइनलसम्म पुगेकी एरिकाले पूल चरणमा मोंटेनेग्रोकी जोभाना दाम्जानोभिचलाई २–०, बेलारुसकी मारिया मलाखावालाई १–१ र जर्मनीकी जोहाना नीरलाई २–१ ले पराजित गरिन् । त्यस्तै क्वार्टरफाइनलमा स्लोभेनियाकी जाला मारिया जिब्रेटविरुद्ध ८–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी एरिकाले उक्त राउण्डमा इटालीकी क्लियो फेराकुतीलाई ८–३ ले हराएर फाइनलमा प्रवेश गरिन् ।

फाइनलमा भने एरिकाको सामना हालकी विश्व नम्बर एक कजाकस्तानकी सोफिया बेरुल्तसेभासँग भयो । फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेकी एरिकाले समग्रमा २–१ को अन्तरले हारिन् । अर्कोतर्फ विश्व नम्बर १ सोफियाले यो जितसँगै सिजनको तेस्रो उपाधि हात पारिन् र प्रिमियर लिगमा सातौं स्वर्ण पदक जित्न सफल भइन ।

यस्तोमा पछिल्लो समय डब्लुकेएफले सार्वजनिक गरेको वरीयताअनुसार एरिका अब महिला कुमिते ६८ केजीभन्दा माथी तौलसमूहमा १५०० अंकसहित दोस्रो स्थानमा उक्लिएकी छन् । विश्व नम्बर एक सोफिया बेरुल्तसेभा भने २९७० अंकसहित शीर्षमा छन् भने तेस्रो स्थानमा इङ्ल्यान्डकी रोशेल वाल्टर्स १२०० अंकसहित रहेका छन् ।

अर्कोतर्फ अब सबैको ध्यान अब मोरक्कोको राबाटतर्फ केन्द्रित हुनेछ । किनकी यस वर्षको अन्तिम प्रिमियर लिग र ग्रान्ड विनरको टुंगो यहि लाग्नेछ । एरिकाले यदि यहाँ स्वर्ण पदक नै जित्न सफल भइन भने विश्व नम्बर एक बन्ने उनको सपना पूरा हुन सक्छ ।

Logo