काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज वीरगन्जस्थित नारायणी मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशमाथि ५ विकेटको जित दर्ता गर्दै आर्मी च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १६२ रनको मध्यम लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा इमरान शेख र बसिर अहमदको प्रदर्शन निर्णायक रह्यो।
सुरुवाती अवस्थामा ५६ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा परेको आर्मीलाई यी दुई ब्याटरले उकासेका थिए। इमरान ४६ रनमा अविजित रहँदा बसिरले ४५ रनको महत्वपूर्ण योगदान दिए। त्यसअघि ओपनर त्रित राज दासले ३१ रन जोडेका थिए।
सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
आठौं पटक फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । प्रधानमन्त्री कपको हालसम्म भएका सात वटा संस्करणमा नेपाल पुलिस क्लबले चार, आर्मी र एपीएफ क्लबले दुई/दुई पटक उपाधि उचालेका थिए । पहिलो संस्करणको फाइनल खेल वर्षाले बिथोलिँदा पुलिस र आर्मी दुवैलाई संयुक्त विजेता घोषणा गरिएको थियो। त्यसबाहेक पुलिसले तेस्रो, छैटौं र सातौं संस्करणको उपाधि उचाल्दा एपीएफले दोस्रो र पाँचौं प्रधानमन्त्री कप जितेको थियो। आर्मीले भने पुलिससँग संयुक्त विजेता बनेको पहिलो फाइनलपछि चौथो संस्करणको उपाधि उचालेको थियो।
विभागीयबाहेक फाइनलमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम भने उपाधिबाट वञ्चित बनेको छ । यसअघि लिग चरणमा दबदबा कायम राखेको सुदूरपश्चिम फाइनलमा भने चुक्यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र बनाउन सकेको थियो। सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो, जहाँ टोलीले ३१ रन जोड्दा आफ्ना शीर्ष ५ ब्याटरलाई गुमाइसकेको थियो। संकटमा परेको सुदूरपश्चिमको इनिङ्सलाई अशोक धामी र किरण ठगुन्नाले सम्हाल्ने प्रयास गरेका थिए। अशोकले ४३ तथा किरणले ३५ रन जोडे। त्यस्तै नारायण जोशीले २९ रनको योगदान दिए।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका आकाश चन्द र शाहब आलमले उत्कृष्ट बलिङ गरे। दुवैले समान ३–३ विकेट लिए भने बसिर अहमदले २ विकेट झारे। कसिलो बलिङ र सन्तुलित ब्याटिङको मद्दतले आर्मीले ९३ बल बाँकी छँदै सहज जित दर्ता गर्दै यस सिजनको प्रधानमन्त्री कप आफ्नो नाममा गर्न सफल भयो।





























प्रतिक्रिया