भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र सेवा प्रवाहको प्रशंसा गर्दै ख्वप अस्पताललाई देशकै नमूना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्राविधिक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
अस्पतालको स्थलगत अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाले आफ्नै स्रोत, साधन र जनशक्ति परिचालन गरेर जनताप्रति उच्च जिम्मेवारीबोध गरेको बताए । स्वास्थ्यलाई मानिसको सबैभन्दा अमूल्य धनको रूपमा व्याख्या गर्दै उनले नागरिक स्वस्थ भए मात्र अन्य विकासको औचित्य रहने उल्लेख गरे ।
नगरपालिकाले निकै लामो समयदेखि स्वास्थ्य र शिक्षामा गरेको लगानीको प्रतिफल अहिले देखिन थालेको भन्दै उनले भक्तपुरको यो मोडेल अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले अस्पतालको भवन निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट अपुग भएमा थप रकम तत्काल व्यवस्था गरिने आश्वासन दिए । उनले आगामी वर्षको बजेटमा अस्पतालका लागि आवश्यक आधुनिक उपकरण, जनशक्ति र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने बताए । “नगरपालिकाले आफ्नो योजना र आवश्यक सामग्रीको प्रस्ताव पेस गरोस्, प्रदेश सरकारले त्यसलाई सुनिश्चित गर्छ,” उनले भने ।





























प्रतिक्रिया