इरान-अमेरिका तनावको बाछिटा नेपालको पानी उद्योगमाः मूल्य समायोजन गर्न महासङ्घको आह्वान

इरान-अमेरिका तनावको बाछिटा नेपालको पानी उद्योगमाः मूल्य समायोजन गर्न महासङ्घको आह्वान

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्व राजनीतिमा विकसित इरान–इजरायल र इरान–अमेरिका बीचको द्वन्धात्मक अवस्थाको प्रत्यक्ष असर नेपालको प्रशोधित पिउने पानी उद्योगमा देखिएको छ।

नेपाल पानी उद्योग महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चा पदार्थको आपूर्तिमा समस्या उत्पन्न भई उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको जनाएको छ।

महासङ्घका अनुसार पछिल्लो समय पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल र जार लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ। साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत समेत उल्लेख्य बढेको विज्ञप्तिमा उल्लेख छ।

वर्तमान लागत विश्लेषण गर्दा पुरानै मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै महासङ्घले आफ्ना सदस्य उद्योगहरूलाई लागतको अनुपातमा मूल्य समायोजन गर्न अनुरोध गरेको छ। “यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो,” महासङ्घले स्पष्ट पारेको छ।

महासङ्घले नेपाल सरकारसँग कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न, आवश्यक कूटनीतिक पहल गर्न र उद्योगमैत्री नीति ल्याउन माग समेत गरेको छ । हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योगहरू सञ्चालनमा रहेका छन्, जसमा १६ अर्बभन्दा बढी लगानी भएको र ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

अन्त्यमा महासङ्घले आम उपभोक्ता, वितरक र व्यवसायीहरूलाई यस बाध्यात्मक मूल्य समायोजनमा सहयोग र सहकार्य गरिदिन अपिल गरेको छ।

Logo