मुस्ताङमा चौरीको आलो रगत पिउने मेला सुरु

मुस्ताङमा चौरीको आलो रगत पिउने मेला सुरु

केन्द्रबिन्दु
6
Shares

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोलामा आजदेखि चौरीको आलो रगत पिउने मेला सुरु भएको छ । वर्षमा दुईपटक आयोजना हुने यो मेलामा छिमेकी जिल्लाहरुबाट बिरामीहरु आउने गर्छन् ।

विशेष गरि यो मेला बैशाख महिनामा मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टेखोला र साउनमा निलगिरी हिमालको फेदमा अवस्थित मार्चे लेकमा आयोजना हुने गर्दछ । हिमालयन चौरी पालन तथा संरक्षण समितिको आयोजनामा आजदेखी सुरु भएको उक्त मेलामा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, पर्वत र पोखरादेखी बिरामी तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् ।

चौरीको आलो लगत पिउँदा शरीरमा रहेको विभिन्न रोगहरु जस्तै ग्यास्टिक, गानोगोला, अपच, रक्तअल्पता, सर्दिदिया निको हुने जनविश्वास रहेको चौरी पालन समितिका सदस्य सोजन हिराचनले बताए । उनका अनुसार चौरीको आलो रगत पिउँदा धेरै जसो रोगहरु निको हुने हुँदा पनि बर्सेनि बिरामीहरु यहाँसम्म आउने गर्छन् । समितिले आलो रगतको प्रती गिलासको ३ सय रुपैयाँमा बिक्रीवितरण गर्दै आइरहेको छ ।

आजभन्दा २५ वर्ष अघि गिलासको २० रुपैयाँ पर्ने गर्थ्यो । भने अहिले मानिसहरू गिलासको ३ सय रुपैयाँँसम्म तिर्न तयार छन् ।

आजदेखी सुरु भएको मेलामा राष्ट्रिय याक दिवसलाइ मध्यनजर गरेर बैशाख ७ र ८ गते विविध सांस्कृतिक कार्यक्रम, परम्परागत सादा तारा खेल लगायतका साथै अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना हुने हिमालयन चौरी पालन तथा संरक्षण समितिका अध्यक्ष बुद्धिरन्त शेरचनले बताए । परापुर्वकालदेखिनै आयोजना हुँदै आइरहेको यस चौरीको आलो रगत पिउने मेला आम मानिसको जनविश्वासकै कारण अहिलेसम्म पनि निरन्तर चलिरहेको उनले बताए ।

Logo