काठमाडौं। वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रक्रियालाई पूर्ण डिजिटल बनाउँदै ‘फेसलेस’ प्रणाली लागू गरेको हो । यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) सँग एपीआईमार्फत अन्तरआबद्ध गरिएको छ ।
मन्त्रालयका अनुसार त्रिविसँग वैशाख ४ गते सम्झौता सम्पन्न भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो । यससँगै विद्यार्थीले अब अनलाइन आवेदन दिएर सम्पूर्ण प्रक्रिया घरबाटै पूरा गर्न सक्नेछन् ।
प्रणाली अनुसार आवेदन दर्ता भएपछि नागरिकताको विवरण गृह मन्त्रालयको सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (CIMS) सँग मिलान गरिनेछ । साथै एनईबी र विश्वविद्यालयका विवरणहरू प्रणालीमार्फत स्वचालित रूपमा रुजु गरिने भएकाले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हट्नेछ ।
स्नातकोत्तर वा सोभन्दा माथिल्लो अध्ययनका लागि भने सम्बन्धित विश्वविद्यालयको प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था यथावत् रहनेछ, तर त्रिवि र केयूसँगको अन्तरआबद्धताले प्रमाणीकरण प्रक्रिया पनि डिजिटल रूपमा गर्न सकिनेछ ।
महालेखा नियन्त्रकको कार्यालयको रेवेन्यु इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम (RIMS) सँग पनि प्रणाली जोडिएकाले एनओसीको शुल्क पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
स्वीकृत भएपछि विद्यार्थीले आफ्नो प्रोफाइलबाट एनओसी प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन् । प्रमाणपत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर यसको प्रामाणिकता जाँच गर्न सकिने व्यवस्था पनि गरिएको एनओसी शाखाले जनाएको छ ।































प्रतिक्रिया