‘वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ’ : उपाध्यक्ष ढकाल

‘वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ’ : उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालले आफूले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताएका छन् ।

नेपालगञ्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भने, ‘यस अघि अरुले के गरे मलाई थाहा भएन, तर म सदैव तपार्इंहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’ वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हर हिसाबले सक्षम र दाबेदार रहेको उनको भनाइ थियो । ‘अहिले विपक्षी साथीहरुले महासंघमा २५, ३० वर्ष बिताएको भन्दै अब आफूले नेतृत्व गर्न पाउने दावी गर्दै आउनु भएको छ, धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’ उपाध्यक्ष ढकालले भने ।

आफूले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने उनको भनाइ थियो । ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताएका छन् । ‘आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’ उनले भने ।

यसअघि शुक्रबार गुलरिया उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिने गरेको गुनासो आएपछि ढकालले सो धारणा राखेका थिए । व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो पर्यो भने तथा हाम्रा समग्र व्यवसायिक हकहीतका विषयमा समस्या उत्पन्न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिन सक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उपाध्यक्ष ढकालको भनाइ छ ।

त्यस्तै, सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले यस अघि आफूहरुले सहयोग गरेका कतिपय उमेदवारले चुनाव जितेपछि प्रतिवद्धता अनुरुप काम नगरेको भन्दै यस पटकको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल नेतृत्वको टीमबाट त्यस्तो धोका नहुने बताए । ‘यस अघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर यस पटकको हाम्रो उम्मेदवार चन्द्र ढकालले ७७ वटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्नु हुने छैन । उनले भने ।

त्यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उमेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे । साथै कोभिडका कारण जिल्ला नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफू नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उमेदवारमा र गुणनिधी तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले आज भन्दा ३ महिना अघि नै सो प्रदेशका १० वटै उद्योग वाणिज्य संघले चन्द्र ढकाल प्यानललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो कार्यक्रममा कर्णाली प्रदेशबाट रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व चन्द, कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही, बराहाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने लगायत दुई दर्जन संघ अध्यक्षहरुको उपस्थिती थियो ।

Logo