काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण रोकिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउँदा खेल अवरुद्ध हुन पुगेको हो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । उनले ३५ बलमा २ चौका प्रहार गर्दै ३२ रन जोडेर नटआउट रहे । मध्यम सुरुवात गरेको नेपालले आक्रामक खेल्ने प्रयास गरे पनि नियमित अन्तरालमा विकेट गुमाउँदा टोली दबाबमा परेको थियो।
कुशल मल्लले २१ बलमा १७ रन जोडे भने ओपनर कुशल भुर्तेलले ९ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाए । त्यस्तै, तल्लो क्रममा नन्दन यादवले ७ बलमा २ छक्का प्रहार गर्दै १३ रनको छोटो तर महत्वपूर्ण योगदान दिए । अर्जुन साउदले पनि १३ रन जाेडे ।
नेपाली ब्याटरहरूलाई सस्तैमा समेट्न यूएईका बलरहरूले धारिलो प्रदर्शन गरे। मोहम्मद जुहैबले ४ ओभरमा २९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिनुभयो। जुनैद सिद्दिकीले २ विकेट हात पार्दा हैदर अली र मोहम्मद अर्फानको नाममा १-१ विकेट रह्यो।





























प्रतिक्रिया