काठमाडौं । शनिबार दिउँसोको वर्षापछि अवरुद्ध बीपी राजमार्ग ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि खुलेको छैन ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर दीपक याकामीले सोमबार दिउँसोसम्म सञ्चालनमा ल्याइने दाबी गरे पनि रोशी खोलाको बाढीसँग प्रतिस्पर्धा गर्दै बनाइएका अस्थायी डाइभर्सन कमजोर देखिँदा यात्रुको प्रतीक्षा अझै लम्बिएको छ । यो अवरोधले राजधानीलाई पूर्वी नेपाल जोड्ने वैकल्पिक जीवनरेखाको दयनीय पूर्वाधार यथार्थलाई उजागर गरेको छ ।
रोशी करिडोरमा डाइभर्सन बनाउने प्रयास गत चैतयताकै चौथो दोहोरिएको हो। शनिबार वर्षा सुरु हुनासाथ जिल्ला सुरक्षा निकायले ३ः३० बजे सडक बन्दको निर्णय लिँदा त्यसलाई सामान्य सावधानी ठानिएको थियो। तर, रोशी खोलाको बाढीले कटुन्जे–मंगलटार खण्डको आठ स्थानमा डाइभर्सन मात्र बगाएन, करिब ४ किलोमिटर मार्ग नै पूर्ण रूपमा ध्वस्त पारेको हो ।
आइतबार डिभिजन कार्यालय र स्थानीय ठेकेदार कम्पनीले अधिकांश क्षतिग्रस्त बिन्दुमा डाइभर्सन पुनर्निर्माण गरेर खुलाउन लाग्दा साँझ परेको पानीले नाटकीय मोड ल्याएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख, प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, आठ स्थानको डाइभर्सन बनिसकेको थियो, तर आइतबार साँझको पानीले चिउरीबास, नार्के र विशेष गरी चारसयबेँसीको नवनिर्मित डाइभर्सन पुनः बगाइदिएपछि सबै मिहिनेत खेर गयो । अहिले चारसयबेँसी र घुमाउने सबैभन्दा पीडादायी ‘चोक प्वाइन्ट’ बनेका छन्, जहाँबाट सोमबार बिहानदेखि पुनः डोजर र स्काभेटर लगाइएको छ।
त्यति मात्र होइन यसपटकको क्षतिको फेहरिस्त लामो छ । चौकीडाँडा, घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती गरी काभ्रेतर्फ मात्र ११ स्थानमा डाइभर्सन बगाएको छ भने सिन्धुलीतर्फको आँपघारी र नेपालथोकमा पनि क्षति पुगेको छ । आइतबार थपिएको क्षतिसँगै कुल क्षतिग्रस्त बिन्दु १३ पुगेको प्रहरी पुष्टि गरेको छ ।





























प्रतिक्रिया