काठमाडाैं । आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत आज सम्पन्न खेलमा नेपाली महिला टोलीले आयोजक रुवान्डामाथि ३८ रनको सानदार जित दर्ता गरेको छ।
रुवान्डा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो।
१०४ रनको मध्यम लक्ष्य पछ्याएको रुवान्डाको टोली नेपाली बलरहरूको कसिलो बलिङसामु निरिह देखियो। रुवान्डा १७.४ ओभरमा मात्र ६५ रनमा समेटिन पुग्यो। रुवान्डाका लागि कप्तान मेरी डियान बिमेन्यिमानाले सर्वाधिक १९ रन र जोभानिस उवासेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालको जितमा बलरहरूको प्रदर्शन निर्णायक रह्यो। मनिषा उपाध्यायले घातक बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर मात्र १० रन खर्चिँदै ३ महत्वपूर्ण विकेट लिइन्। त्यस्तै कविता कुँवर, रचना कुमारी चौधरी र रिया शर्माले समान २–२ विकेट लिएर रुवान्डाको ब्याटिङ लाइन ध्वस्त पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएकाे थियाे । नेपालको सुरुवात भने निकै कमजोर रह्यो। ओपनरद्वय सम्झना खड्का ६ रन र बिन्दु रावल २ रनमा आउट भएपछि दबाबमा परेको नेपालले ५ ओभरभित्रै २३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।
मध्यक्रममा कप्तान इन्दु बर्माले टोलीको इनिङ्स सम्हाल्दै सर्वाधिक ३३ रन (नटआउट) जोडिन्। उनले ४५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन्। उनलाई कविता कुँवरले राम्रो साथ दिँदै २६ बलमा २४ रनको योगदान दिइन्।































प्रतिक्रिया