वासिङ्गटन । ८० वर्षपछि रूसको विजय दिवसको परेडमा ट्याङ्क र मिसाइल नदेखिने भएकाे छ ।
सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पहिलो पटक रुसले मे ९ मा सैन्य उपकरणबिना विजय दिवस परेड आयोजना गर्नेछ । रक्षा मन्त्रालयले कुनै उपकरणविना विजय जुलुस मनाउनुलाई परिचालनका लागि हालको अवस्थालाई कारणका रूपमा जनाएपनि यसबारे विस्तृत विवरण दिएको छैन ।
रुसले मे ९ मा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ८१ औँ वार्षिकोत्सव मनाउँदैछ । रुसी रक्षा मन्त्रालयले राजधानी मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस सैन्य प्रदर्शनमा यसपटक सैन्य उपकरणको प्रदर्शन नहुने घोषणा गरेको छ ।
सन् २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि यस बर्ष रूसी ट्याङ्क, र मिसाइल प्रणाली र अन्य भारी सैन्य सवारी साधनहरू परेडमा समावेश हुने छैनन्। सामान्यतया यो परेडलाई रुसको सैन्य शक्तिको ठूलो प्रदर्शनका रुपमा लिइन्छ ।
रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिलेको परिचालन अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको छ । यसको पछाडिको कारण भने विस्तृत रुपमा बताइएको छैन ।”
परेडमा विभिन्न सैन्य शैक्षिक संस्थाका क्याडेटहरू र सेनाका केही शाखाका कर्मचारीहरू सहभागी हुनेछन् भने परम्परागत हवाई फ्लाइओभर जारी रहनेछ ।
विजय दिवस रूसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय उत्सव मानिन्छ। रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको कुरालाई महान् देशभक्तिपूर्ण युद्धका रूपमा सम्झने गरेको छ ।
सोभियत सङ्घमा लाखौँ मानिसको ज्यान लिएको युद्धले देशको सामूहिक स्मृतिमा गहिरो प्रभाव पारेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लामो शासनकालमा विजय दिवसलाई राष्ट्रिय गौरव र शक्ति प्रदर्शनको प्रमुख प्रतीक बनाएका छन् । उनीहरूले युक्रेन युद्धको औचित्य पुष्टि गर्न यस ऐतिहासिक विजयको सन्दर्भलाई पनि प्रयोग गरिरहेका छन्।
गत वर्षको परेड भव्य थियो, जसमा ११ हजार ५०० भन्दा बढी सैनिक र १८० भन्दा बढी सैन्य गाडीहरू सहभागी थिए। यसले युक्रेन युद्धमा प्रयोग गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल यार्स, ट्याङ्क र हतियारहरू पनि प्रदर्शन गरेको थियो । त्यसबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा जस्ता विश्वका धेरै नेताहरु पनि उपस्थित थिए । यद्यपि, सन् २०२३ मा पहिले नै परेडलाई स्थगित गरिएको थियो । -एएफपी




















