काठमाडाैं । भारतकाे उत्तर प्रदेशको बुलन्दशहरमा तीन जना साथीको हत्या गरी फरार रहेका ३२ वर्षीय जिम ट्रेनर सतिश सैनी बिहीबार बिहान प्रहरीसँगको मुठभेडमा मारिएका छन्।
शनिबार र आइतबारको मध्यरातमा आफ्नै जन्मदिनको उत्सव मनाउने क्रममा भएको विवादले उग्र रूप लिँदा सैनी र उनका सहयोगीहरूले गोली चलाएर तीन जनाको हत्या गरेका थिए।
बुलन्दशहरको खुर्जा क्षेत्रमा बिहीबार बिहान अभियुक्तहरूको खोजी गर्ने क्रममा प्रहरीले मोटरसाइकलमा सवार दुई व्यक्तिलाई रोक्न खोजेको थियो। प्रहरीको संकेतलाई बेवास्ता गर्दै उनीहरूले गोली चलाएर कच्ची बाटोतिर भाग्न खोजेपछि जवाफी कारबाहीमा सैनी घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पतालमा उनलाई मृत घोषित गरियो।
यस गोली हानाहानमा प्रहरी निरीक्षक मोहम्मद असलमा र हेड कन्स्टेबल मोहित कुमार घाइते भएका छन्। घाइते प्रहरीहरूको अवस्था अहिले स्थिर रहेको जानकारी दिइएको छ। साथै, मुठभेडका क्रममा अन्य दुई प्रहरी अधिकारीको बुलेटप्रुफ ज्याकेटमा पनि गोली लागेको थियो।
प्रहरीका अनुसार हत्याको घटनापछि सैनी फरार थिए र उनको गिरफ्तारीका लागि ५० हजार भारु पुरस्कार समेत घोषणा गरिएको थियो। सैनी पहिलेदेखि नै विभिन्न आपराधिक मुद्दाहरूमा संलग्न रहँदै आएका थिए। प्रहरीले यस हत्याकाण्डमा संलग्न रहेका अन्य पाँच जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।




















