काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डसामु २७८ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २७७ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि मध्यक्रमका भरपर्दा ब्याटर देव खनालले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । उनले ६५ बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६३ रनको योगदान दिए । उनलाई ओपनिङ ब्याटर मयन यादवले राम्रो साथ दिएका थिए । मयनले ८६ बल खेल्दै ४५ रन जोडे ।
नेपालको सुरुवात मध्यम रहे पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूले स्कोर बोर्डलाई चलायमान बनाएका थिए । कप्तान अनिल साह १८ रनमा आउट भएपछि मैदान छिरेका देव खनालले इनिङ्स सम्हालेका थिए । अर्का ब्याटर सन्दीप जोराले ३४ रन जोडे भने अलराउन्डर पवन सर्राफले विष्फोटक ब्याटिङ गर्दै १८ बलमै ३१ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गर्दै खेलको लय नेपालतर्फ मोडेका थिए ।
इनिङ्सको अन्त्यतिर दीपक डुम्रेले विष्फोटक फिनिसिङ गरे । उनले मात्र ७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २३ रन जोडेपछि नेपाल बलियो स्थितिमा पुगेको हो । रशिद खान १४ रनमा नटआउट रहे ।
बलिङतर्फ स्कटल्याण्डका लागि ब्राड कुरी र सफ्यान सरिफले २–२ विकेट लिए । त्यस्तै ज्याक जार्विस, ओलिभर डेभिड्सन, ब्रान्डन म्याकमुलन र मार्क वाटले समान १–१ विकेट हात पारे ।





























प्रतिक्रिया