मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् ।
स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताए । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनले बताए ।
गुरुङ भन्छन् , “पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालि सक्नुपर्छ । शुक्रबारमात्रै मह काढ्ने चलन छ । मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको छ,” उनले भने ।
मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन् । एकपटक बनाइएको भर्याङ तीनचार वर्षसम्म उपयोग गर्न सकिन्छ ।
यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङ बताए ।
मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भन्ने विश्वास रहेको छ । धेरै मौरीले चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुन्छ । मीनबहादुरले भन्छन्,“पहिलापहिला त मुखमात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ ।”
पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो ।हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताए ।
मह सिकार हेर्न पुगेका टर्कीका नागरिक केमलको भनाइअनुसार यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो। प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्नु पर्ने उनले बताए ।
“म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिएँ । नेपाली साहसी छन्, नेपालीका बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो,” केमल बताए ।































प्रतिक्रिया