काठमाडाैं । फाइटर सन स्ट्रिकल्याण्डले शनिबार राति भएको अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्तमा खम्जात चिमाएभलाई ‘स्प्लिट-डिसीजन’का आधारमा पराजित गर्दै युएफसी मिडिलवेट उपाधि पुन: आफ्नो नाममा लेखाएका छन्।
न्युजर्सीको नेउवर्कमा आयोजित युएफसी ३२८ को यो मुख्य भिडन्त पाँच राउण्डसम्म चलेको थियो, जसमा स्ट्रिकल्याण्डले चिमाएभको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएका छन्।
खेलको सुरुवातमा चिमाएभले आफ्नो चिरपरिचित रेस्लिङ शैलीमार्फत पहिलो राउण्डमा पूर्ण नियन्त्रण कायम गरेका थिए। यद्यपि, दोस्रो राउण्डबाटै स्ट्रिकल्याण्डले उत्कृष्ट पुनरागमन गरे। उनले चिमाएभका ‘टेकडाउन’ प्रयासहरूलाई असफल पार्दै ग्राउन्ड कन्ट्रोलमा पनि सुधार देखाए। तेस्रो र पाँचौँ राउण्डमा स्ट्रिकल्याण्डको मुक्का र शारीरिक चालढाल निर्णायक सावित भयो, यद्यपि खेलको बीचमा उनको नाकमा चोट लागेको थियो।
अन्तिम राउण्डमा चिमाएभले दबाब बढाउने प्रयास गरे पनि निर्णायकहरूले स्ट्रिकल्याण्डको पक्षमा फैसला सुनाए।
जीतपछि अक्टागनमा बोल्दै स्ट्रिकल्याण्डले आफ्ना समर्थकहरूलाई धन्यवाद दिए। साथै, उनले खेलअघिको तयारीका क्रममा आफूले बोलेका केही शब्दहरूले सीमा नाघेको स्वीकार गर्दै चिमाएभप्रति सम्मान व्यक्त गरे। सन् २०२५ को फेब्रुअरीमा ड्रिकस डु प्लेसिससँग गुमाएको बेल्ट उनले यस जीतसँगै पुन: प्राप्त गरेका छन्।
यसैगरी, सह-मुख्य स्पर्धामा म्यानमारमा जन्मिएका जोसुवा भानले तात्सुरो ताइरालाई पराजित गर्दै फ्लाइवेट उपाधि रक्षा गरेका छन्। सुरुवाती राउण्डमा ताइराको बलियो ‘ग्रापलिङ’ आक्रमण झेलेका २४ वर्षीय भानले दोस्रो राउण्डको अन्त्यतिर ताइरालाई शक्तिशाली प्रहार गर्दै भुइँमा ढालेका थिए।





























प्रतिक्रिया