काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको भिजिट भिसा प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीमाथि मुद्दा नचलाउने भएको छ ।
अख्तियारसम्बद्ध स्रोतका अनुसार कुनैपनि प्रमाण भेटिएन । प्रमाण नै नभएको अवस्थामा कसरी मुद्दा चलाउनु भन्दै मुद्दा नचल्ने गरी फाइल बन्द गरेको हो ।
‘तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि जे जति मुद्दा चल्यो, त्यही नै हो । त्यहाँभन्दा माथि जान खोज्दा कुनै प्रमाण भेटिएन’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने, ‘मुद्दा नचल्ने निष्कर्ष सहित अनुसन्धान नै टुंगिएको छ ।’
विभिन्न मुलुकहरूमा नेपाली कामदारहरूलाई भिजिट भिसामा पठाउँदा घूस लिने संयन्त्र नै खडा गरेको आरोपमा २०८२ जेठ ७ ठगते अध्यागमन विभागका सहसचिव तिर्थराज भट्टराई पक्राउ परेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । मिलेमतोमा कर्मचारीहरू विमानस्थल अध्यागमनमा पठाउने र त्यसक्रममा लाभ लिनेगरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सहसचिव(पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका) छविराज रिजाल लगायतहरू मुछिएका थिए ।
अख्तियार २१ मंसिर, २०८२ मा सहसचिव भट्टराई लगायतमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो । त्यतिबेला नै विशेष अदालतमा विवरण पठाएर अख्तियारले पूर्वगृहमन्त्री लेखक लगायतमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
अख्तियारले त्यतिबेला विशेष अदालतमा पठाएको विवरण अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको साथबाट डायरी बरामद भएको थियो भने नेपाल टेलिकमबाट उनको कल डिटेल रेकर्ड(सीडीआर) विश्लेषण भएको थियो ।





























प्रतिक्रिया