काठमाडौं । पश्चिम एसियामा जारी तनावका कारण नेपाल उच्च जाखिममा रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले जनाएको छ ।
अन्तर्राष्ट्रिय आपूर्ति शृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपालले हासिल गरेको मानव विकास सूचकांक (एचडीआई) जोखिममा रहेको यूएनडीपीद्वारा सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असरसम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गत अप्रिल मध्यतिर प्रकाशित ‘मिलिट्री एस्कलेसन इन द मिडल इस्ट : ह्युमन डेभलपमेन्ट इम्प्याक्ट्स अक्रस एसिया एन्ड द प्यासिफिक’ शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा १६ फागुनदेखि जारी द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढी क्षति बेहोर्ने चेतावनी दिइएको छ ।
युद्धका कारण खाडी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आम्दानी घट्ने र त्यसले घरपरिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाब पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ ।
युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरुद्ध छ । युद्धका कारण पेट्रोलियम पदार्थको सहउत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको छ ।
‘नेपालमा रोजगारीको जोखिम वैदेशिक श्रम आप्रवासनसँग नजिकबाट जोडिएको छ । करिब ८० प्रतिशत आप्रवासी कामदार खाडी मुलुक र मलेसिया जाने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘अवरोध कायम रह्यो भने श्रम गतिशीलतामा आउने सीमितताले विप्रेषणमा निर्भर धेरै परिवारको रोजगारी र आम्दानी खुम्चिन सक्छ ।’































प्रतिक्रिया