काठमाडौं । उत्तर कोरियाले संविधानमा संशोधन गरेको छ । संशोधन गरिएको प्रावधानमा भनिएको छ, “यदि, राज्यको आणविक बलमाथिको कमान्ड–एन्ड–कन्ट्रोल प्रणाली शत्रु शक्तिहरूको आक्रमणका कारण खतरामा परेमा तत्काल र स्वचालित रूपमा आणविक हमला सुरु गरिनेछ ।”
नेता किम जोङ उनको हत्याको चर्चा चलेसाँगै उत्तर कोरियाले यो नीति बनाएको हो । उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधनलाई अनुमोदन गरेको बताइएको छ ।
इरानका सर्वोच्च नेता अली खामेनी र अन्य अधिकारीहरूको हालैको द्वन्द्वका क्रममा हत्या भएपछि बढ्दो विश्वव्यापी तनावका बीच यो परिवर्तन गरिएको ‘द टेलिग्राफ’को रिपोर्टलाई उद्धृत गर्दै ‘फक्स न्युज डिजिटल’ले जनाएको छ ।
रोयटर्सले यसअघि उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरी दक्षिण कोरियासँगको सीमालाई स्पष्ट तोकेको र दुई देशबीच एकता (रियुनिफिकेसन)का सन्दर्भहरूलाई हटाएको रिपोर्ट गरेको थियो । उत्तर कोरियाको संविधानमा सीमा समावेश गरिएको यो पहिलोपटक भएको बताइएको छ ।
गत महिना किमले दक्षिण कोरियाप्रति कडा अडान राख्दै देशको आणविक क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । दक्षिण कोरियालाई उनले सबैभन्दा शत्रुतापूर्ण राज्य भनेका छन् ।





























प्रतिक्रिया