काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई जितका लागि २४४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको हो।
स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले विष्फोटक सुरुवात गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्काको मद्दतले ७५ रनको उत्कृष्ट इनिङ खेले। अर्का ओपनर फिनले म्याक्रेथले ३५ रन जोड्दै पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरेर नेपाललाई दबाबमा राखेका थिए।
यद्यपि, साझेदारी तोडिएसँगै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेलको पासा पल्टाए। सन्दीपले आफ्नो १० ओभरको स्पेलमा ४१ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिएपछि स्कटल्याण्डको मध्यक्रम धराशयी बनेको थियो। उनले मुन्से, म्याक्रेथ सहित ब्रेन्डन म्याकमुलनले ७ रन र कप्तान रिची बेरिङटनले ५ रन बनाउँदा पेभेलियनको बाटो देखाए।
मध्यक्रममा माइकल इङ्लिसले सम्हालिएर खेल्दै अविजित ३४ रन बनाए भने माइकल लिस्कले २९ र मार्क वाटले २४ रन जोडेपछि स्कटल्याण्डले मध्यम स्कोर खडा गर्न सफल भयो। नेपालका लागि तीव्र गतिका बलर करण केसी र नन्दन यादवले समान २-२ विकेट लिए। किफायती बलिङ गरेका ललित राजबंशीले १० ओभरमा मात्र ३३ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।





























प्रतिक्रिया