हिमालय स्पोर्टस् र डीगो एपमार्फत नेपालमा फिफा विश्वकप २०२६ हेर्न: यस्तो छ ग्राहक बन्ने प्रक्रिया

हिमालय स्पोर्टस् र डीगो एपमार्फत नेपालमा फिफा विश्वकप २०२६ हेर्न: यस्तो छ ग्राहक बन्ने प्रक्रिया

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । एक महिनापछि सुरु हुने फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्टस् टेलिभिजन र डीगो (DGO) एप मार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडिया ले हिमालय स्पोर्टस् र डीगोसँगको सम्झौता सार्वजनिक गरेको हो । नेपालभित्र यी दुई प्लेटफर्म बाहेक अन्य कुनै माध्यमबाट विश्वकपका खेलहरू हेर्न नपाइने जनाइएको छ ।

एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्टस् (हिमालय टेलिभिजन नेटवर्क) र मोबाइल एपतर्फ डीगो एपसँग एक्सक्लुसिभ प्रसारण अधिकार सम्झौता गरेको छ । एसप्रो मिडियाका अध्यक्ष सोम धिताल ले भने, “नेपाली दर्शकले अब आफ्नै टेलिभिजन र मोबाइल एपमा विश्वकप हेर्न पाउने वातावरण बनेको छ । विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको छ ।”

सोही कार्यक्रममा हिमालय टेलिभिजन नेटवर्कको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’ को औपचारिक शुभारम्भ गरिएको छ । हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल र हिमालय स्पोर्टस्‌का प्रमुख कार्यकारी अधिकृत सुरज गिरी ले संयुक्त रूपमा च्यानलको उद्घाटन गरे ।

अध्यक्ष भुसालले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय कन्टेन्ट नेपालमा ल्याउने नयाँ अध्याय सुरु भएको बताए । कार्यकारी निर्देशक कँडेलले खेल अर्थतन्त्रको विकास र उत्कृष्ट गुणस्तरको खेलकुद कन्टेन्ट प्रसारण गर्ने उद्देश्यले यो च्यानल सुरु गरिएको जानकारी दिए । कार्यक्रममा डीगो मोबाइल एपको पनि नयाँ स्वरूपमा शुभारम्भ गरियो । यसअघि ‘डिसहोम गो’ नाममा सञ्चालनमा रहेको एपलाई आधुनिक प्रविधि र डिजाइनसहित डीगो ब्रान्डिङमा सार्वजनिक गरिएको हो ।

डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकाल, निर्देशक सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेल ले एपको उद्घाटन गरे । अध्यक्ष ढकालले प्रविधि, बजार र दर्शक तयार रहेको समयमा डीगोलाई विश्वकपसँग जोडेर ल्याएको बताए । उनले विश्वभरका नेपालीलाई कन्टेन्टमार्फत जोड्ने एपको उद्देश्य रहेको उल्लेख गरे ।

फिफा विश्वकप २०२६ का सबै १०४ खेल हेर्न दर्शकले निम्नानुसार सदस्यता लिन सक्नेछन् :टेलिभिजन (हिमालय स्पोर्टस्) : प्रति सेटअप बक्स ९९९ रुपैयाँ (करसहित)
डीगो एप (अर्ली बर्ड अफर) : सीमित समयका लागि ७९९ रुपैयाँ
मोबाइल एप मात्र (डीगो) : ५४९ रुपैयाँ (करसहित)

यी शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै खेल लाइभ तथा रेकर्डेड रूपमा हेर्न पाउनेछन् । टेलिभिजन सदस्यता का लागि सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने छ भने डीगो एप मार्फत मोबाइल/डिजिटल सदस्यता सीधै एपबाट लिन सकिनेछ ।

यो सम्झौताले नेपाली दर्शकलाई घरमै अन्तर्राष्ट्रिय स्तरको फुटबल अनुभव दिने अपेक्षा गरिएको छ ।

Logo