काठमाडौं । ‘आदर्श नागरिकका लागि राम्रो शिक्षा’ भन्ने मूल नाराका साथ विसं २०४० सालमा स्थापना भएको नेपाल पुलिस सेकेण्डरी स्कुलले नेपालको शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित पहिचान बनाएको छ । तत्कालीन प्रहरी महानिरीक्षक स्व. डि.बी. लामाको पहलमा नेपाल प्रहरी संगठनको कल्याणकारी योजना अन्तर्गत यो गैरनाफामूलक शैक्षिक संस्थाको स्थापना भएको हो।
काभ्रेको साँगास्थित हरियाली डाँडामा करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालय काठमाडौँ उपत्यकाको पूर्वी किनारमा अवस्थित छ। प्रदूषणमुक्त, शान्त र मनोरम प्राकृतिक वातावरणमा रहेको यो विद्यालयमा कक्षा ४ देखि १२ सम्मको अध्यापन हुने गर्दछ । विशेष गरी प्रहरी कर्मचारीका सन्तानहरूलाई लक्षित गरी खोलिएको भए तापनि यस विद्यालयले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ६० प्रतिशत प्रहरीका सन्तान र ४० प्रतिशत सर्वसाधारणका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको छ।
नेपाल प्रहरी विद्यालय यसको कडा अनुशासन र पूर्ण आवासीय सुविधाका लागि परिचित छ।
नेपाल प्रहरी विद्यालय यसको कडा अनुशासन र पूर्ण आवासीय सुविधाका लागि परिचित छ। कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थी र कक्षा ११, १२ का विज्ञान संकायका विद्यार्थीहरूका लागि छात्रावासमा बस्नु अनिवार्य छ। छात्रावासलाई विद्यार्थीहरूको दोस्रो घर महसुस गराउन अनुभवी शिक्षक, सहयोगी कर्मचारीहरूको टोली अहोरात्र खटिने गर्दछ । यसका साथै व्यवस्थापन संकायका डे स्कलर विद्यार्थीहरूका लागि काठमाडौँ उपत्यका र काभ्रेका मुख्य स्थानहरूबाट यातायातको सुविधा समेत उपलब्ध छ।
‘गरेर सिक्ने’ सिद्धान्तमा विश्वास गर्ने यस विद्यालयले अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था गरेको छ।
‘गरेर सिक्ने’ सिद्धान्तमा विश्वास गर्ने यस विद्यालयले अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था गरेको छ। ११ र १२ कक्षाका विद्यार्थीहरूका लागि भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान र कम्प्युटर विज्ञानका छुट्टाछुट्टै प्रयोगशालाहरू रहेका छन् भने जुनियर र सेकेण्डरी तहका लागि पनि छुट्टै ल्याबहरूको व्यवस्था गरिएको छ।
पूर्वाधारमा सम्पन्न, स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको यस विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ ।































